म्याग्दी, २५ असोज । रोजगार र अध्ययनको शिलशिलामा हङकङमा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङकङले आर्थिक अवस्था कमजोर भएका म्याग्देलीहरुको उपचारमा सघाउन अक्षकोषमा ४० लाख रुपैया आर्थिक सहयोग गरेका छन् । परोपकारी क्षेत्रमा क्रियाशिल ओमकुमारी शान्ति कोषले आर्थिक रुपमा कमजोर भएका जिल्लाबासीको उपचारमा सघाउन स्थापना गरेको अक्षयकोषमा मोना हङकङले रु ४० लाख ११ हाजर १११ आर्थिक सहयोग गरेको हो ।

मंगलवार बेनीमा आयोजित कार्यक्रमका बिच मोना हङकङका अध्यक्ष कर्णबहादुर पुनले कोषका अध्यक्ष राजेश शाक्यलाई सो रकमको चेक हस्तान्तरण गरेका थिए । मोना हङकङको २० औँ साधारणसभाको अवसरमा कोषका लागि संकलन भएको उक्त रकम प्रदान गरिएको अध्यक्ष पुनले बताए । म्याग्दीमा रोग लागेर विरामी भएमा आर्थिक अभाबकै कारण उपचार गराउनबाट बञ्चित हुन नपरोस भनेर अक्षयकोष बनाउनु पुन्य कार्य हो, यसमा हाम्रो पनि सहभागीता जनाउन आर्थिक संकलन गरेर सहयोग गरिएको जानकारी दिए ।

अध्यक्ष पुनका अनुसार, मोना हङकङले स्थापनाकालदेखि अहिलेसम्म विपन्नको उपचार, प्राकृतिक प्रकोपबाट पीडित भएकाहरुलाई राहत संगै शिक्षा, स्वास्थ्य लगायतको परोपकारी क्षेत्रमा २ करोड ४१ लख २६ हजार ५७६ रुपैयाँ आर्थिक सहयोग गरिसकेको जनाए । मोना हङकङले संकलन गरेको उक्त रकम जुटाउन हङकङमा रहनुभएका १५ जना म्याग्देलीहरुले प्रतिव्यक्ति रु २ लाख सहयोग गरेका थिए । उक्त अवसरमा अक्षयकोषमा रु २ लाख सहयोग गरि व्यक्तिगत संरक्षक सदस्यता प्राप्त गरेका व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।कार्यक्रममा सहभागी कर्ण पुन, इन्द्रएलजी थापा मगर, प्रमोद गिरी, जेबेन्द्र फगामी र राजु गर्वुजा पुनको दम्पतीलाई प्रमुख जिल्ला अधिकारी चिरञ्जिवि राना, बेनी नगरपालिकाका मेयर सुरत केसी, कोषका अध्यक्ष शाक्य लगायतले व्यक्तिगत संरक्षक सदस्यता प्रदान संगै माला लगाएर सम्मान गरेका थिए ।

२०७१ सालदेखि सञ्चालन भएको अक्षयकोष निर्माण अभियानमा हालसम्म रु १ करोड ४३ लाख संकलन भएको कोषले जनाएको छ । कोषमा हालसम्म आर्थिक सहयोग गरि ८३० जनाले आजिवन सदस्यता, ४१ जनाले व्यक्तिगत संरक्षक सदस्यता र ९ वटा संस्थाले संस्थागत संरक्षक सदस्यता लिएका छन् ।
कोष मार्फत हालसम्म २६५ जना गरिब तथा आर्थिक अबस्था कमजोर भएका विरामीको उपचारमा आर्थिक सहायता प्रदान गरिएको कोषका अध्यक्ष राजेश शाक्यले बताए । “ विरामीलाई बचाउने अभियानमार्फत २ करोड संकलन र कोषबाट प्राप्त ब्याज रु ५० लाख रुपैया विरामीलाई सहयोग कोषमार्फत भएको छ ।”
बेनी नगरपालिका मेयर सुरत केसीले म्याग्देलीहरुको सहयोगमा बनेको अक्षकोषलाई प्रभावकारी रुपमा संचालन गर्न कोषका समितिलाई आग्रह गरेका थिए । उहाँले आवश्यकताका आधारमा सहयोग परिचालन गर्नुपर्ने बताए । मोना हङ्गकङ्गका अध्यक्ष पुनको अध्यक्षता, बरिष्ठ उपाध्यक्ष प्रमोद गिरीको स्वागत महासचिव जेवेन्द्र फगामीको संचालनमा भएको कार्यक्रममा विभिन्न संघसंस्थाका नेतृत्व कर्ताले मन्तव्य राखेका थिए ।





