म्याग्दी १४ फागुन । मालिका गाउँपालिका–३ पात्लेबाट बिरामी लिएर पोखरा जाँदै गरेको ग १ ज ६७८८ नम्बरको जिप गएराति बेनी नगरपालिका–४ सिंगामा दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । भने, चारजना घाइते भएका छन् ।
जिप म्याग्दी नदीमा खस्दा सवार मालिका–३ का ६२ वर्षीय गोविन्द रोकाको बेनी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जानकारी दिएको छ । रुखबाट लडेर घाइते भएका रोकालाई उपचारका लागि पोखरा लैजाँदै गरेको जिप दुर्घटना भएको हो ।
दुर्घटनामा जिप चालक मालिका–१ निस्कोटका ३० वर्षीय नरबहादुर रोका, मालिका–३ पात्लेका २९ वर्षीय रवीन्द्र रोका, २० वर्षीया रेजिना रोका र ३८ वर्षीय खगेन्द्र रोका घाइते भएका छन् । घाइतेहरुमध्ये जिप चालक नरबहादुरलाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ । अन्य घाइतेहरुको बेनी अस्पतालमा उपचार भइरहेको छ । चालकबाहेक मृतक र घाइते एकै परिवारका सदस्यहरु हुन् ।
तातोपानी प्रहरी चौकी, तातोपानी र पखेरका स्थानीय बासिन्दाले घाइतेको उद्धार गरेका थिए ।




