
म्याग्दी, असार १ — म्याग्दीको बेनी नगरपालिका–८ गणेशटोलस्थित भित्री सडक खण्डमा जिपको ठक्करबाट एक बालक घाइते भएका छन्।
आइतबार साँझ करिब ५:३५ बजे शिक्षामार्गबाट संगमचोकतर्फ आउँदै गरेको ग २ च ७८३८ नम्बरको जिपले पैदलयात्री रघुगंगा गाउँपालिका–२ राखु घर भई हाल बेनी नगरपालिका–८ गणेशटोलमा डेरा गरी बस्ने अनु कार्कीका ६ वर्षीय छोरा आयन कार्कीलाई ठक्कर दिएको हो।
दुर्घटनामा घाइते भएका आयनको टाउकोको बाँया भाग, दाहिने खुट्टाको कुर्कुचा, ढाड तथा दाहिने कुहिनोमा चोट लागेको प्रहरीले जनाएको छ। उनको अवस्था मध्यम रहेको बताइएको छ।
घाइते बालकलाई उपचारका लागि प्रदेश अस्पताल बेनी लगिएकोमा थप उपचारका लागि पोखरा रिफर गरिएको छ।
दुर्घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।






