जलजलाको पर्यटन सम्भावना
काेराेला पोस्ट १० जेष्ठ २०८३, आइतबार

म्याग्दी, १० जेठ । समुद्री सतहदेखि तीन हजार ४१८ मिटर उचाइमा रहेको र ढोरपाटन सिकार आरक्षमा समेटिएको जलजला म्याग्दीको धवलागिरि गाउँपालिकाको वडा नं २ को भूगोलमा पर्छ । बेनीदेखि धवलागिरि गाउँपालिकाको केन्द्र मुना–खोरीया–मरेनी– जलजला–ढोरपाटन हुँदै पूर्वीरुकुमको तकसेरा जोड्ने सडकको मार्ग खुलेपछि सृजना भएको अवसरको सदुपयोग गर्न साझा प्रयास थालिएको छ ।

गुर्जा, धवलागिरि, चुरेन, पुथा, अन्नपूर्ण हिमालको काँखमा समथर भूगोलमा रहेको जलजला ढोरपाटन सिकार आरक्षको ‘भ्यूप्वाइन्ट’ हो । मथर पाटनको शान्त वातावरणमा, छिनछिनमा परिवर्तन हुने मौसम, शीतल हावापानी, पशु गोठहरूमा रमाउन पाउनुु जलजला उपत्यकाको विशेषता हो ।

समथर फाँटमा बसेर आँखै अगाडि देखिने हिमालको लर्कनले चित्रकारले कोरेको क्यानभासको आभास गराउँछ । जलजलाबाट सिस्ने, पुथा, गुर्जा, मानापाथी, धवलागिरि, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे र मनास्लु हिमाल र सूर्योदयको दृश्यावलोकन गर्न सकिन्छ । बर्खायाममा पशुगोठ, वन्यजन्तु, समथर फाँट, पहाडी भूगोल, वनजङ्गल, वसन्त ऋतुमा गुराँसे जङ्गलको अवलोकन गर्न पाउनु यहाँको अर्को विषेशता हो ।

गत फागुनमा मार्ग खुुलेको बेनीदेखि १२२ किलोमिटर दूरीमा रहेको तकसेरा जोड्ने सडकलाई स्तरोन्नति गरी मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्पका रूपमा विकास गराउन पहल थालिएको छ। जलजला धवलागिरि गाउँपालिकाको मुना, दर, फलियागाउँ, लुलाङ, लमसुङ, खोरिया र मरेनीका बासिन्दाको चरन क्षेत्र हो ।