यूएई, १७ मे । अमेरिका, इजरायल र इरान विच भएको युद्धले खाडी मुलुकमा रहेका नेपालीहरु समस्यामा छन् । इजरायलले इरानको राजधानी तेहरानमा आक्रमण गरेपछि इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सुरक्षा क्याम्पमा आक्रमण सुरु गरेको थियो ।
इरानले निरन्तर यूएईमा गरेको आक्रमणका कारण यूएईले अन्य देशहरुसंग गर्दै आएको ब्यवसायलाई प्रभावित पार्दा विभिन्न कम्पनीमा कार्यरत नेपालीहरुको रोजगारमा प्रभाव पारेको छ । पछिल्लो समय आक्रमण रोकिएको छ ।
रोजगारको शिलशिलामा यूएईमा ठुलो संख्यामा म्याग्देली युवायुवती पनि छन् । युद्धका कारण रोजगार गुमाएर अलपत्र रहेका म्याग्देलीहरु सहजीकरणका लागि मोना यूईमा सम्पर्कमा आउन अध्यक्ष काजीमान बुढाथोकीले आग्रह गर्नुभएको छ ।
हालको परिस्थितिले भिजिट भिषा लगायत अन्य भिषामा आएर रोजगार गुमाएका, भिजा सिद्धिएका, पासपोर्टको म्याद सकिएर नेपाल फर्कन नसकेर समस्या रहेका म्याग्देलीहरुलाई महावाणिज्यदुताबास, नेपाली राजदुताबास र नेपाली समाज यूएईसंग समन्वय गरेर सहयोग गरिने मोनाले जनाएको छ ।
मोनाले युएईको नितिनियम पालना गरि सावधानी अपनाउन आग्रह गरेको छ । रोजगारको शिलशिलामा रहेका म्याग्देलीका घरपरिवारले पासपोर्ट, ईमिरेट आईडी र इन्सुरेन्सको डकुमेण्ट कपी वा स्कान गरि राखेमा समस्यामा सहजीकरण गर्न सजिलो हुनेछ ।




