विद्यार्थीलाई प्रयोगात्मक ज्ञानसिप सिकाउन तरकारी खेती
काेराेला पोस्ट २ जेष्ठ २०८३, शनिबार

म्याग्दी, २ जेठ । विद्यार्थीलाई प्रयोगात्मक ज्ञानसिप सिकाउन रघुगंगा गाउँपालिका–२ राखु भगवतिमा रहेको मुक्तिधाम माध्यमिक विद्यालयले तरकारी खेती गरेको छ ।

कृषि प्राविधिक विषयका विद्यार्थीको प्रयोगात्मक अभ्यास, चमेनागृह र छात्रावासका लागि आवश्यक पर्ने तरकारी आपुर्तिका साथै विद्यार्थीमा ब्यवसायिक ज्ञान, सिप हाँसिल गराउन तरकारी खेति गरेको हो ।

वार्षिक २५ हजार रुपैयाँ तिर्नेगरी भाडामा लिएको चार रोपनी जमिनमा लगाएको तरकारीले चमेनागृह र छात्रावासको माग धान्नुका साथै बिक्री गरेर विद्यार्थीहरुले खाजा खर्च जुटाउने गरेका छन् ।

करेसाबारीमा बन्दा, काउली, टमाटर, साग, सिमी, करेला, धिरौला, अकवरे खुर्सानी, काँक्रो, ब्रोकाउली, जुकेनी लगायत मौसमी र बेमौसमी विभिन्न जातका तरकारी खेती हुने गरेको सहायक प्रशिक्षक गणेशबहादुर चोखालले बताए ।

गड्यौलाको प्रयोग गरेर करेसाबारीमा आवश्यक पर्ने प्राङगारिक मल पनि विद्यालय आफैले उत्पादन गरेको छ । विद्यालयको फोहोर, फालिएका कापी किताब, च्याउ खेतीमा प्रयोग भएको पराल र करेसाबारीको झारपातलाई गड्यौला भएको खाडलमा कुहाएर मल बनाउने गरेका गरेको विद्यार्थी रेजिना भण्डारीले बताईन् ।

वि.स. २००६ मा स्थापना भएको मुक्तिधाम माविले वि.स. २०६५ देखि दश जोड दुई र वि.स. २०७२ देखि कृषि प्राविधिक विषयको पठनपाठन सञ्चालन गरेको प्रअ अमर केसीले बताए।