छङछङ गर्दै झर्ने अर्मके झरना
काेराेला पोस्ट २५ बैशाख २०८३, शुक्रबार

म्याग्दी, २५ बैशाख । धवलागिरी गाउँपालिका–४ मा रहेको अर्मके झरना ओझेलमा परेको छ । धौलागिरि चक्रीय पदमार्गको अन्तिम मानव बस्ती बगर जेल्तुङ नजिकै रहेको अर्मके झरना व्यवस्थापन, पूर्वाधार र प्रचारप्रसारको अभावका कारण ओझेलमा परेको हो ।

यो झरना सुन्दर, मनमोहक र आकर्षक देखिन्छ । अग्लो पहाडको फेदीमा दुई वटा तहमा छङछङ गर्दै झर्ने अर्मके झरनाको फेदीबाट म्याग्दी नदी बग्छ । करिब २०० मिटर अग्लो झरनाको फेदीमा तलाउ छ । छेउमै प्राकृतिक तातोपानीको कुण्ड रहेको छ । झरनालाई पर्यटकले टाढैबाट अवलोकन गर्ने र तस्बिर भिडियो लिने गर्छन् । रमणीय भए पनि अर्मके झरना सुनसान हुन्छ ।

अर्मके झरना र प्राकृतिक तातोपानी कुण्डमा पूर्वाधार निर्माण, प्रचारप्रसार र व्यवस्थापन गरी पर्यटन विकासका लागि जनप्रतिनिधिले चासो देखाएका छन् । धवलागिरि गाउँपालिका–४ का वडासदस्य हरिप्रसाद तिलिजाले झरना र तातोपानी कुण्डलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गराउने प्रयास गरेको बताए ।

“म्याग्दीखोला जलविद्युत् आयोजनाको पहुँच मार्ग निर्माणका क्रममा अर्मके झरना नजिकै हालै सडक पुगेको छ”, उनले भने, “सडक सुविधासँगै अर्मके झरनामा पर्यटकको चहलपहल बढ्ने अपेक्षा गरिएको छ ।” बगर हुँदै धौलागिरि हिमाल आरोहण गर्न र चक्रीय धौलागिरिको पदयात्रामा जाने पर्यटकलाई तातोपानी र झरनामा झुलाउन तथा उनीहरूको बसाइ लम्ब्याउन सहयोग पुग्ने देखिन्छ ।