वसन्तयामको धौलागिरि हिमाल आरोहण सुरु
काेराेला पोस्ट १८ बैशाख २०८३, शुक्रबार

म्याग्दी, १८ बैशाख । धौलागिरि गाउँपालिका–४ स्थित विश्वको सातौँ अग्लो (आठ हजार १६७ मिटर) धौलागिरि हिमालमा चालु वसन्तयामको आरोहण सुरु भएको छ ।

पर्यटन विभागका अनुसार वसन्तयाममा धौलागिरि आरोहणका लागि तीन समूहका १२ महिला र १६ पुरुषले अनुमति लिएका छन् । अनुमति लिएकाबाट रु एक करोड २५ लाख ६० हजार ८५० सलामी दस्तुर (शुल्क) प्राप्त भएको पर्यटन विभागका शाखा अधिकृत शर्मिला बञ्जाडेले बताईन । बैशाख ६ गते चार विदेशी र पाँच नेपालीले यसवर्षको पहिलो सफल आरोहरण गरिसेकेका छन् । गत शरद्याममा धौलागिरि हिमाल आरोहणका लागि ३६ जनाले अनुमति लिएका थिए ।

छिनछिनमा परिवर्तन हुने मौसमका कारण अन्य हिमालको तुलनामा धौलागिरि आरोहणलाई जोखिमयुक्त र साहसिक मानिन्छ । सन् १९६० मे १३ मा अस्ट्रियाका कुर्ट डिम्बर्गरले पहिलोपटक धौलागिरि हिमालको सफल आरोहण गरेका थिए ।

डिम्बर्गरसहित पिटर डियनर, एन्स्ट फोरर, एल्बिन सेल्वर्ट, निमा दोर्ज र नवाङ दोर्ज पहिलोपटक धौलागिरिको चुचुरोमा पुगेका थिए ।