घारखोलाको विद्युतगृहमा पहिरो, सुरक्षागार्डको मृत्यु, आयोजना बन्द
काेराेला पोस्ट २६ श्रावण २०८३, मंगलबार

म्याग्दी, २६ साउन ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत आयोजनाको विद्युतगृहमा मंगलबार बिहान पहिरोले पुरिदाँ एक जनाको मृत्यु भएको छ ।

विद्यूतगृहमा कार्यरत एक जना प्राबिधिक घाइते भएका छन् भने एक जनाको सकुशल उद्दार गरिएको छ । म्याग्दी हाइड्रोपावर प्रर्वद्धक रहेको १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको विद्युतगृहका उपकरणमा क्षति पुगेपछि उत्पादन बन्द भएको छ ।

पहिरोमा पुरिएर वेपत्ता भएका विद्युतगृहमा सुरक्षागार्डको रुपमा कार्यरत अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरका ५५ वर्षीय दिपक बरुवाल (खेमराज) को घटनास्थलमै मृत्यु भएको हो ।

बिहान ३ः३५ को समयमा विद्युतगृह माथिबाट खसेको ढुंगा माटो सहितको सुख्खा पहिरोमा पुरिएका बरुवालको प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यको नेतृत्वमा नेपाल प्रहरी, नेपाली सेना र शसस्त्र प्रहरी बलको टोलीले डोजर परिचालन गरेर एक घण्टाको प्रयासमा निकालिएको थियो । वाइट सागर तिमिल्सीना, प्रहरी निरीक्षक, जिल्ला प्रहरी कार्यालय म्याग्दी

विद्युतगृहमा काम गरिरहेको अवस्थामा एक्कासी पहिरो खसेपछि झ्यालबाट हाम फालेर भाग्ने क्रममा घाइते भएका इलेक्ट्रिकल ओभरसियर गौरीगंगा नगरपालिका –५ का ३१ वर्षीय सुरेन्द्र बि.क.को प्रदेश अस्पताल बेनीमा उपचार भइरहेको छ ।

सिफ्ट इञ्चार्ज समेत रहेका अर्का इलेक्ट्रिकल ओभरसियर पाल्पाको निस्दी गाउँपालिका–५ का २४ वर्षीय छवीलाल अर्यालले विद्युतगृहमा थुनिएको अवस्थामा रसिको सहायताले बाहिर निस्कन सफल भएको बताउनुभयो । वाइट छवीलाल अर्याल, इलेक्ट्रिकल ओभरसियर, घारखोला जलविद्युत आयोजना

पहाड काटेर बनाइएको विद्युतगृह भन्दा माथि रहेको पहाड भत्किएर पहिरो खसेको छ । वि.स. २०७४ देखि निर्माण शुरु भई वि.स. २०८० असार महिनादेखि विद्युत उत्पादन थालेको आयोजनाले सर्वसाधारणका लागि सेयर जारी गर्ने अन्तिम तयारीमा रहेको अवस्थामा प्राकृतिक विपद्का कारण क्षति ब्यहोर्नुपरेको हो । सहयोगी र स्वदेशमै केही गरौ भन्ने भावनाले संघर्ष गरिरहेका बरुवालको निधनले अन्नपूर्ण गाउँपालिकाको केन्द्र समेत रहेको पोखरेबगरका बासिन्दा शोकमा डुबेका छन् ।