एमालेका उम्मेदवार श्रेष्ठ र कटुवाल भकिम्लीमा
काेराेला पोस्ट १६ कार्तिक २०७९, बुधबार


म्याग्दी, १६ कात्तिक । चार मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको निर्वाचनका लागि नेकपा एमालेका उम्मेदवारले घरदैलोमार्फत मतदाता भेटघाटलाई तीव्रता दिएका छन् । एमालेले मंगलरबार बेनी नगरपालिका–३, भकिम्लीको विभिन्न टोल र वस्तीमा पुगेर मतदाता भेटघाट गरी भोट मागेका हुन् ।

भकिम्लीको हल्लेगौंडा, चिनाखेत, भकिम्ली, डोले र छेपारेलगायत टोल, वस्तीमा पुगेर चुनावलक्षित कार्यक्रमअन्तर्गत मतदाता भेटघाट गर्नुका साथै घरदैलो गरिएको नेकपा एमाले म्याग्दीले जनाएको छ । एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठ, प्रदेश सभा (क)का उम्मेदवार एमाले म्याग्दीका अध्यक्ष देवेन्द्रबहादुर कटुवाल क्षत्रीसहितको टोलीले भकिम्लीमा मतदाता भेटघाट गरेको थियो ।

मतदातालाई भेटघाट गर्दै प्रतिनिधि सभाका उम्मेदवार श्रेष्ठले आफू सरकारी जागिरको माया मारेर जनताको सेवा गर्नका लागि राजनीतिमा लागेको हुँदा आसन्न निर्वाचनमा भोट दिएर जिताउन आग्रह गर्नुभयो । उहाँले जिल्लाको विकास र नागरिकको सेवा गर्ने अवसर प्रदान गर्न एमालेका उम्मेदवारलाई जिताउनुपर्ने बताउनुभयो ।

सोही क्रममा प्रदेश सभा (क)का उम्मेदवार केसीले यसअघि दुई पटकसम्म जनप्रतिनिधिको भूमिकामा रहेर जिल्लाको वस्तुस्थिति बुझ्नुका साथै विकास निर्माणमा आवश्यक पहल गरेको हुँदा जिल्लाको विकासलाई थप गति दिन आफू र एमालेको पक्षमा मतदान गर्न आग्रह गर्नुभयो । उहाँले समृद्ध नेपाल र सुखी नेपालीको अभियानलाई पुरा गर्नका लागि पनि देशमा एमालेको सरकार आवश्यक रहेकाले एमाले उम्मेदवारलाई विजयी बनाउनुपर्नेमा जोड दिनुभयो ।