म्याग्दी, १६ जेठ । कोरोनाको दोस्रो लहरको सुरुवातीसँगै मानिसको जीवन र जीविका दुवै पुनः खोसिने जोखिममा परेको छ । कोभिड–१९ बाट थलिएका व्यवसायहरू तंग्रिन नपाउँदै नयाँ प्रजातिको कोरोना संक्रमणबाट थप अस्तव्यस्त बनाएको छ ।
विगतमा लामो समयको कोरोना लकडाउनका कारण कैयौंको रोजगारी गुमेको वा न्यून वेतनमा काम गर्नुपरेको जगजाहेर नै छ । दोस्रो लकडाउन भएमा आम जनजीवनमा नराम्रोसँग असर पर्ने निश्चित छ । कोरोना कहरले गरिबी बढाएको छ । अब मानिसलाई रोगले भन्दा पनि भोकले पिरोल्ने अवस्था नआउला भन्न सकिन्न ।
रोकथामका अन्य उपायहरू नअपनाई विगतको जस्तो अन्धाधुन्द लकडाउन मात्रै गर्नेतर्फ लागेमा कतिपय विपन्न वर्गका श्रमजीवीहरूको जीविका नै धरापमा पर्नेतर्फ सरकारले हेक्का पु¥याउनुपर्ने हुन्छ । रोकथामको अन्तिम विकल्पका रूपमा मात्र लकडाउनको उपयोग गरिनुपर्छ । मानिसको जमघट हुने राष्ट्रिय÷अन्तर्राष्ट्रिय सभा, समारोह, सम्मेलन, पर्व, उत्सव स्थगित गरेर सामाजिक दूरी कायम गर्नेतर्फ सबैले हेक्का राख्नुपर्छ । सरकारी निकायबाट आदेश, निर्देश र अपिलका कागजी झटारोले मात्रै भविष्यमा आइपर्ने विपत्ति टर्नेछैन । कोरोनाविरुद्धको भाषण र आश्वासनभन्दा एक्सन अहिलेको आवश्यकता हो । कोरोना प्रतिरोधका लागि सरकारले कोरोना संक्रमणपूर्व र संक्रमणपश्चात् गरिनुपर्ने कार्ययोजनाको मार्गचित्र नै बनाएर प्रतिरोधमा उत्रिन विलम्ब गरिनु हुन्न ।
वैदेशिक रोजगारीमा रहेका करिब ५० लाख नेपालीले पठाएको रेमिट्यान्सले राष्ट्रिय अर्थतन्त्रमा २५ प्रतिशत योगदान पु¥याएको छ । तर, विश्वभर कोरोना कहरका कारण बेरोजगारी बढ्दो छ । नेपालीहरू पनि रोजगारी गुमाएर स्वदेश फर्किने क्रम बढ्दो छ । यस विषम परिस्थतिमा रेमिट्यान्सको आकार न्यून हुँदै जानु स्वाभाविकै हो । रोजगारी गुमाएर स्वदेश फर्केका युवकका लागि सरकारले देशभित्रै रोजगारीको अवसर दिने खासै प्रभावकारी कार्यक्रम ल्याउन सकेको छैन् ।
पर्यटन व्यवसाय कोरोनाबाट तंग्रिन लाग्दै गर्दा फेरि धराशायी नहोला भन्न सकिन्न । अन्य उद्योगधन्दाहरूले पनि रोजगारी सिर्जनामा उल्लेख्य प्रगति गर्ने छाँट देखिँदैन ।
नेपाल प्रवेशका नाकाहरूमा उच्च सतर्कताको अभाव, भारतसँगको खुला आवागमनका कारण पनि भाइरसको जोखिम उत्तिकै छ । यसर्थ कोरोना जोखिमको सामना गर्न विमानस्थल र सीमा नाकामा उच्च सतर्कता अपनाउने, कोरोना संक्रमित देशहरूमा गरिने आवतजावत केही समयका लागि स्थगित वा उच्च सतर्कताका साथ गर्ने, अस्पतालहरूलाई साधनस्रोत सम्पन्न पारेर तयारी अवस्थामा राख्ने, ठूला सभा–सम्मेलन, भोजभतेर नगर्ने, रोगप्रतिरोध क्षमता कम भएका बालबालिका, वृद्धवृद्धा, उपचाररत बिरामीहरूको रेखदेखमा विशेष चनाखो रहने, सचेतनामूलक कार्यक्रमहरूलाई सहज र व्यापक बनाउने जस्ता काम राज्य र सबै नागरिकको प्रमुख दायित्वभित्र पर्छ ।
मानव जमघट धेरै हुने विद्यालय, कलेज, ठूला उद्योगधन्दा, सिनेमाघर, सार्वजनिक यातायात, सपिङ मल, व्यस्त गल्ली आदि परिस्थितिको गाम्भीर्यता सूक्ष्म आकलन गरेर अहिलेलाई बन्द गर्नु स्वागतयोग्य पहल ठहर्नेछ । संक्रमणबाट बच्न सर्वसाधारणले अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने मास्कको सहज उपलब्धता, भाइरस परीक्षण कीट तथा स्वास्थ्य संस्थाको पर्याप्त सुदृढीकरण व्यवस्थापनमा सरकार चनाखो रहनुपर्छ ।
अनुशासित, स्वस्थकर बानीबेहोरा र दृढ आत्मबल तथा सकारात्मक सोचबाट कोरोनालाई परास्त गर्न सकिने अनुभवसिद्ध तथ्य हो । विश्वभर महामारीका रूपमा सल्किएको अदृश्य शत्रु कोरोनासँग लड्न सरकार, सरोकार तथा मानव समुदायबीच सचेतना, सतर्कता, संवेदनशीलता, संयमता, सद्भाव, सहयोग र सहकार्य (सात स) को खाँचो देखिन्छ ।




