सम्झौता बिपरित नदी दोहन गर्नेे डोजर र टिप्पर नियन्त्रणमा
काेराेला पोस्ट १४ फाल्गुन २०७७, शुक्रबार


म्याग्दी, १४ फागुन । सम्झौता र मापदण्ड विपरित म्याग्दीको बेनी नगरपालिका–६ ठूलोबगर स्थित कालीगण्डकी नदीमा दोहनमा प्रयोग भएको डोजर र टिप्परलाई शुक्रबार सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । वातावरणीय परिक्षण प्रतिवेदन र नगरपालिकासँग भएको सम्झौता बिपरित साहना निर्माण सेवाले नदी उत्खनन्मा प्रयोग गरेको एक्साभेटर र दुई वटा टिप्पर नियन्त्रणमा लिएको गलेश्वर स्थित शसस्त्र प्रहरी बलको आश्रित गुल्मले जनाएको छ ।
डोजरको साथै उत्खनन गरिएको नदीजन्य बस्तुको ढुवानीमा प्रयोग भएको ग १ ख ७९६७ र ग १ ख ९०३८ नम्बरको टिप्पर नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय म्याग्दीलाई बुझाएको गुल्मका प्रहरी नायव उपरिक्षक हरिबहादुर गुरुङले बताए । बेनी– जोमसोम सडकको प्रवेश बिन्दुमा पर्ने बेनी–गलेश्वर सडक अन्तरगत बेनी नगरपालिकाको वडा न. ६ मा पर्ने ठूलो बगर क्षेत्रमा केही दिनयता एक्साभेटर प्रयोग गरेर नदीजन्य पदार्थको उत्खनन् भएको बिषयमा प्रकाशन भएको थियो ।
नियन्त्रणमा लिएको डोजर र टिप्परलाई आवश्यक अनुसन्धान गरि कारबाहीका लागि नदीजन्य बस्तुको जिल्ला अनुगमन समितिलाई बुझाइने प्रहरी नायव उपरिक्षक श्यामकुमार राइले बताए । अब्यवस्थित रुपमा एक्साभेटरको प्रयोग गरेर बगर उत्खनन् गर्दा नदी गहिरिने, माछा लगायत जलचरको बासस्थानमा असर पर्ने र नजिकै रहेको सडक कटानको जोखिममा परेको स्थानीयबासीले गुनासो गरेका छन् । जलजला गाउँपालिका–७ मिलनचोकको साहना निर्माण सेवाले बेनी नगरपालिकासंग ठुलोबगर स्थित कालीगण्डकी बगरमा नदीजन्य बस्तुको उत्खनन् र निकासीका लागि २०७७ फागुन ५ गते बेनी नगरपालिकासँग रु. दुई लाख २५ हजारमा ठेक्का सम्झौता गरेको थियो ।
सोही कम्पनीले बेनी नगरपालिका–९ मा पर्ने गलेश्वर–मजुवाको बगरमा उत्खनन् र निकासीका लागि रु. सात लाख एक हजारमा ठेक्का लिएको छ । बेनी नगरपालिकाका इञ्जिनियर बिमलरञ्जन कार्कीले नदीजन्य बस्तु उत्खनन्मा हेभी इक्युभमेन्ट प्रयोग गर्ने सम्झौता नभएको बताए ।
साहना निर्माण सेवाका सञ्चालक शिव जिसीले मजदुर लगाएर उत्खनन् गर्दा सम्भव नहुने भएकाले बिकास निर्माणका लागि आवश्यक निर्माण सामग्रीको सहज आपुर्तिका लागि सरोकारवालाको मौखिक सहमतिमा उत्खनन्मा उपकरण प्रयोग गरेको बताए ।
नदीजन्य बस्तुको उत्खनन् नियमनका लागि जिल्ला स्तरमा रहेको अनुगमन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले सम्झौता र इआइ प्रतिवेदन बिपरित नदी बगर उत्खनन्मा उपकरण प्रयोग गरेको भेटिएमा कारबाही गरिने बताए । त्यसैगरी बेनी नगरपालिका–५ बगुवाखोलामा जिसी क्रसर उद्योगले मापदण्ड विपरित डोजर प्रयोग गरेर गरिरहेको उत्खनन्लाई शसस्त्र प्रहरीका डिएसपी गुरुङको टोलीले रोकेको थियो ।