म्याग्दी, १८ पुष । बहुमुल्य शिला (शालिग्राम) पाइने एकमात्र नदी कालीगण्डकी दोहनको कारण संकटमा परेको छ । पवित्र धार्मिकस्थल दामोदरकुण्ड र मुक्तिनाथका मुलहरुको पानीका कारण पवित्र जलको रुपमा समेत प्रयोग हुदै आएको कालीगण्डकी नदीमा मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वत लगायतका क्षेत्रमा पछिल्लो समय नदीमाथिको दोहन बढेको छ ।
विश्वकै दुर्लभ गंगाको रुपमा पहिचान भएको कालीगण्डकी नदीमा शालीग्राम, हिरा, सुन चादी पाईने नदीको अस्तित्व संकटमा परेको गलेश्वर शिवालय क्षेत्र विकास कोष उपाध्यक्ष भिमनाथ पराजुलीले बताए । कालीगण्डकीको अर्को पवित्र पहिचान कृष्णा गण्डकी रुपमा चिन्ने गर्छन्, दामोदरकुण्ड, मुक्तिनाथ, कागवेनी, गलेश्वर जस्ता धार्मिकस्थलसंग यसको महत्व जोडिएको उपाध्यक्ष पराजुलीले भने ।
दुर्लभ नदीलाई विश्व सम्पदा सूचिमा राखेर सबैले दुर्लभ पहिचान जोगाउन सबै क्षेत्रमा आवश्यक भुमिका खेल्नुपर्ने जोड दिए । कोषका उपाध्यक्ष पराजुलीले ग्रामिण भेगदेखि बजारबासीहरुले गंगामहत्व बुझेर फोहर ब्यवस्थान लगायतमा ध्यान दिन आग्रह गरेका थिए । निश्चित मापदण्ड विपरित विकासको नाममा नदीजन्यबस्तुहरुको दोहनले कालीगण्डकी नदीको अस्तित्व संकटमा परेको छ । विकास आयोजनाका निर्माण ब्यवसायीहरुले विकासको नाममा नदीमा मापदण्ड विपरित नदीजन्य बस्तुहरु उत्खनन् गर्दा अस्तिव संकटमा छ ।
विकासको नाममा वातावरणीय परिक्षण नभएको बगरमा नदीजन्य बस्तु निकाल्दा कालीगण्डकी नदीको महत्व लोभ हुने खतरा बढेको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले बताउनुभयो । सडक, क्रसर र विद्युतको अन्तरद्धन्दले कालीगण्डकी नदीको महत्व गुम्दै गएको रघुगंगा गाउँपालिका–१ स्थित तिपल्याङबासीले भने ।
ब्यवसायीहरुले नदीजन्य बस्तुहरु उत्खनन् गर्न प्रारम्भिक वातावरणीय परिक्षणअनुसार भएको निश्चित मापदण्डलाई वेवास्ता गर्दै निकाल्ने प्रविधि बढेको स्थानीयबासीले जानकारी भयो । कालीगण्डकी नदी अन्तरगत कालीओढार, भिरकाटे, बेगखोला, ठाडिखोरिया, कुनौटा, रिठाबोट र बैसरीमा मापदण्ड विपरित नदीजन्य बस्तुहरु डोजर प्रयोग गरेर उत्खनन् गर्दै आएका छन् ।
गण्डकी प्रदेशको गौरवको आयोजना बेनी जोमसोम सडक अन्तर्गत विभिन्न भागमा कालीगण्डकीमा लापरबाही उत्खनन्संगै सडकको कच्चा पदार्थ नदीमा फाल्नु, जथाभावि वनजंगल कटान, वातावरणीय प्रभावलाई ध्यान नदिई गरिएको कालोपत्रे दिगो नहुने कालीगण्डकी अस्तित्व संकटमा पर्ने सरोकारावालाहरु बताउछन् ।
जिसस प्रमुख केसीले कालीगण्डकी नदीमा गौरवका आयोजनाहरुले डोजर लगाएर नदीजन्यबस्तुहरु उत्खनन् गर्न पाउने ब्यवस्था प्रारम्भिक बातावरणीय परिक्षणमा नभएको जानकारी दिए । ईआइए भएको बगरमा मापदण्ड विपरित नदीजन्यबस्तुहरु डोजर लगाएर निकाल्न नपाईने भनिएपनि गौरवका आयोजनाहरुले श्रमबाट ढिलासुस्तीको कारण देखाएर उपकरणबाट उत्खनन् गर्दै आएको जिसस प्रमुख केसीले बताए । विशेष परिस्थितिमा विकास निर्माणमा नेपाल सरकारको मन्त्री मण्डल वा मन्त्रालयको निर्दैशनअनुसार जिल्लाका सरोकारवाहरुले निणर्य गरेर आयोजनाको लागि नदीजन्यबस्तुहरु उत्खनन्मा उपकरण लगाउने वातावरण सिर्जना गर्न सकिने भएपनि ध्यानाकर्षण नभएको प्रमुख केसीले भने ।
कालीगण्डकी नदीको महत्व जोगाउन स्थानीय सरकारले ध्यान दिनुपर्छ । उत्खनन्को नाममा लापरबाही आयोजनाले गर्नु र अनुगमन प्रभावकारी नहुदाँ कालीगण्डकीसंगै रघुगंगा र म्याग्दी नदीमा राजनीतिको आडमा कमाउने शैली देखाउदै राज्यको सम्पतीको अस्तित्व संकटमा पारेका छन् ।




