म्याग्दी, २१ चैत । यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस फुलेर रङ्गिएको छ।
समुद्री सतहदेखि दुई हजार ८०० मिटर उचाइमा रहेको घोडेपानी क्षेत्रको जङ्गल वसन्त ऋतुको आगमनसँगै गुराँस फुलेर मनमोहक र रमणीय बनेको हो ।
घोडेपानीको दायाँ र बायाँ रहेको जङ्गलमा ढकमक्क लालीगुराँस फुलेपछि मनमोहक बनेको छ । यहाँ रातो, सेतो, चिमाली, सिमालीलगायत जातका गुराँस पाइन्छ ।
गुराँसको जङ्गलको पृष्ठभूमिमा धवलागिरि, गुर्जा, अन्नपूर्ण, माछापुच्छ्रेलगायत १६ भन्दा बढी हिमाल र सूर्योदयको दृश्यावलोकन गर्न सकिन्छ ।
विश्वमा ४२ प्रजातिको गुराँस पाइन्छ । त्यसमध्ये नेपालमा ३२ प्रजातिका छन् । लालीगुराँस नेपालको राष्ट्रिय फूल पनि हो।




