म्याग्दी, १० फागुन । म्याग्दीमा चुनावी सरगर्मी बढेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिदै जाँदा राजनीतिक दल र उम्मेदवारहरुले एजेन्डासहित मतदाताको घरदैलोमा पुग्ने काम निरन्तर गरेका छन् ।सुनसान देखिने बजारको चोक देखि गाउँबस्ती, चौतारी र चिया पसलहरूमा हुने चुनावी बहसले चुनावी सरगर्मी बढाएको हो ।
एकमात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा एक जना स्वतन्त्रसहित विभिन्न राजनीतिक दलका गरी १२ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । स्वतन्त्रबाट डा. महावीर पुन, नेकपा (एमाले)बाट हरिकृष्ण श्रेष्ठ, नेपाली कांग्रेसबाट कर्णबहादुर भण्डारी र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट अर्जुनबहादुर थापा उम्मेदवार रहेका छन् ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट युवराज रोका, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट डम्बरबहादुर सुवेदी, राष्ट्रिय जनमोर्चाबाट छेमबहादुर विक, श्रम संस्कृति पार्टीबाट विनोद राना, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट क्षेत्रबहादुर घिमिरे, मङ्गल नेशनल अर्गनाइजेसनबाट भीमबहादुर लामा, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट देवेन्द्र कामी, नेशनल रिपब्लिकन नेपालका तुलप्रसाद गर्बुजा र स्वतन्त्रबाट महावीर पुन चुनावी प्रतिस्पर्धामा छन् ।

निर्वाचन नजिकिँदै जाँदा ठूलादेखि साना राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले मतदाताको समर्थन जुटाउन घरदैलो, आन्तरिक छलफल, भेला तथा समन्वय बैठकहरू सञ्चालन गरिरहेका छन् । नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा समाजबादी, राष्ट्रिय स्वतन्त्र पाटी र स्वतन्त्र उम्मेद्वारले वडादेखि टोलस्तरसम्म छलफल र मतदाता भेटघाटलाई तीव्रता दिएका छन् ।

म्याग्दीमा कांग्रेस, एमाले, नेकपा र स्वतन्त्र उम्मेदवार महावीर पुनबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । विसं २०७९ को प्र्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा (खम्वीर) ले २४ हजार २१ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले २० हजार, १८९ मत प्राप्त गरेका थिए ।

उक्त निर्वाचनमा नेपाली कांग्रेसलाई तत्कालीन माओवादी केन्द्र एकीकृत समाजवादीलगायतका दलले समेत सर्मथन गरेका थिए । यसपटकको निर्वाचन परिणाम २०७९ सालको भन्दा फरक हुन सक्ने अनुमान गरिएको छ । पूर्व शिक्षामन्त्री महावीर पुन भित्रिएपछि जीतको आंकलन फेरिएको छ।
एक मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको जिल्लामा प्रतिनिधिसभाका लागि कूल ८६ हजार ३९७ मतदाता कायम भएका छन् । निर्वाचनका लागि जिल्लामा ८२ वटा मतदानस्थल र १२० मतदान केन्द्र कायम गरिएको छ ।





