प्रतिवद्धता पुरा गरेका पुर्व सांसद केसीलाई दोवाबासीबाट सम्मान
काेराेला पोस्ट ९ फाल्गुन २०८२, शनिबार

म्याग्दी, ९ फागुन । प्रतिवद्धता पुरा गरेको भन्दै पुर्व सांसद बिनोद केसीलाई अन्नपूर्ण गाउँपालिका–१ दोवाबासीले सम्मान गरेका छन् । नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधीसभा सदस्यका उमेद्वार अर्जुन थापाको लागि भोट माग्न दोवा पुगेका केसीलाई वडा अध्यक्ष दिलिप गर्बुजाले स्वागत र स्थानीय हातेमालो आमा समूह लगायत दोवाबासीले फुलमालासहित सम्मान गरेका थिए ।

प्रतिवद्धता पुरा गरेको भनेर जनप्रतिनिधीले सम्मान पाएको दृष्य बिरलै देख्न र सुन्न पाइन्छ । दोवाका बासिन्दाहरुले भने राम्रो काम गर्ने जनप्रतिनिधीहरुलाई साथ र सम्मान गरेर असल राजनीतिक संस्कार प्रर्दशन गरेका छन् ।

दोवाका वडा अध्यक्ष गर्बुजाले राजनीतिक आस्था फरक भएपनि काम गर्नेलाई साथ दिने र गलत क्रियाकलाप गर्नेलाई खबरदारी गर्ने नीति अनुसार केसीले दोवामा खानेपानी योजना निर्माण गर्ने प्रतिवद्धता पुरा गरेकाले सम्मान गरिएको बताए ।
पुर्व सांसद केसीले दोवाबासीबाट नसोचेको सम्मान पाएको भन्दै धन्यवाद दिदै खुसी व्यक्त गरे ।

वि.स. २०७४ को प्रदेशसभा सदस्य निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्रबाट म्याग्दी १(क) मा उमेद्वार भएका केसीले दोवामा घरघरमा खानेपानी सुविधा पु¥याउने प्रतिवद्धता गरेका थिए ।

गण्डकी प्रदेश सरकारको बजेटबाट खानेपानी जलस्रोत तथा सिचाई डिभिजन कार्यालय म्याग्दीले आर्थिक वर्ष २०७५÷०७६ देखि शुरु भएको योजना सात वर्षमा गत आर्थिक वर्ष २०८१÷०८२ मा सम्पन्न भएको हो ।

करिब रु. पाँच करोड लगानीमा चार वटा स्किममा निर्माण भएको योजनाबाट चार सय २२ घरपरिवार लाभान्वित भएका छन् । गरेकखोला, चिसेपानी, गरिलाखोर र ओरालखर्कको मुहानको पानीलाई फरक फरक ठाउँमा निर्माण भएका रिजर्भ टंकीमा संकलन गरेर पाइपलाइन मार्फत घरघरमा लगेर वितरण गरिएको उपभोक्ता समितिका अध्यक्ष यामबहादुर गर्बुजाले बताए ।

नेकपाका नेता कृष्णकुमार विश्वकर्मा, गण्डकी प्रदेश सरकारका पुर्वमन्त्री तथा प्रदेश सांसद रेशम बहादुर जुग्जाली र सांसद हरिबहादुर भण्डारीले म्याग्दीमा नेकपाका जनप्रतिनिधीले अवसर पाउँदा जनताको पक्षमा काम र विकासका काम गरेको मन्तव्य राखेका थिए ।