म्याग्दीमा उम्मेद्वारहरु मतदाता भेट्न ब्यस्त
काेराेला पोस्ट ७ फाल्गुन २०८२, बिहिबार

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचन लक्षित गर्दै म्याग्दीमा उम्मेद्वारहरु मतदाता भेट्न ब्यस्त छन् । स्वतन्त्र र राजनीतिक दलबाट प्रतिनिधित्व गर्दै प्रतिनिधि सभा सदस्य पदका उम्मेदवारहरुले चुनाव प्रचार टोली लिएर गाउँ केन्द्रित चुनावी सभा र मतदाता भेटघाट तीव्र पारेका छन् ।

मतदाताका गुनासा, सुझाव र अपेक्षा सुन्ने, आफ्नो प्रतिबद्धता सुनाउने, कार्यकर्ता भेला गरेर मतदातालाई आकर्षित गर्ने दैनिकीमा उम्मेद्वारको टोली लागेका छन् । तर, अचानक म्याग्दी आएर उम्मेद्वार बनेका महावीर पुनले चुनावी अंकगणितलाई बदलिदिएका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा एउटा निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला म्याग्दीमा नेपाली कांग्रेसका कर्णबहादुर भण्डारी (के.बी.), नेकपा एमालेका हरिकृष्ण श्रेष्ठ, नेपाली कम्युनिस्ट पार्टीका अर्जुन थापा र स्वतन्त्र उमेद्वार महावीर पुन मुख्य प्रतिस्पर्धीका रुपमा देखिएका छन् ।

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा (माओवादी)ले द्वन्द्वकालमा भूमिगत राजनीति गरेका म्याग्दी बहुमुखी क्याम्पसका पूर्व स्ववियु सभापति क्षेत्रबहादुर घिमिरे (धु्रव) लाई उमेद्वार बनाएको छ । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का डम्मरबहादुर सुवेदी, प्रगतिशिल लोकतान्त्रिक पार्टीका देवेन्द्र कामी, श्रम संस्कृति पार्टीका विनोद राना, राष्ट्रिय जनमोर्चाका छेमबहादुर विश्वकर्मा, मंगोल नेशनल अर्गनाइजेसनका भिमबहादुर लामा र नेशनल रिपब्लिकन नेपालका तुलप्रसाद गर्बुजा उमेद्वार बनेका छन् । सार्वजनिक रुपमा स्वतन्त्र उमेद्वार पुनलाई सघाउने घोषणा गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका युवराज रोकाको समेत उमेद्वारी कायमै छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एउटा निर्वाचन क्षेत्र र ६ वटा स्थानीय तह रहेको म्याग्दीमा ८२ मतदान स्थल र १२० मतदान केन्द्र कायम छन् । जिल्लाभर ८६ हजार ३९७ जना मतदाता छन् । म्याग्देली मतदाताहरु सबै उमेद्वारलाई स्वागत सत्कार गर्ने अनि उनीहरुका विचार र योजना सुनेर निर्णय लिने मनस्थितिमा देखिन्छन् ।