जामुनाखर्क माविमा पाँच लाखको छात्रवृत्ति अक्षकोष
काेराेला पोस्ट ७ पुस २०८०, शनिबार

म्याग्दी, ७ पुस । बेनी नगरपालिका– ६ अर्थुङ्गेस्थित जामुनाखर्क माविमा ५ लाख रुपैयाँको ‘हिरा बहादुर बानियाँ छात्रवृत्ति कोष’ स्थापना गरिएको छ । बेनपा ६ निवासी समाजसेवी, शिक्षाप्रेमी स्व. हिरा बहादुर बानियाँको स्मृतिमा उहाँका छोराहरु प्रकाश बानियाँ, किरण बानियाँले सो रकमको छात्रवृत्ति कोष स्थापना गर्नुभएको हो ।

कोषबाट वार्षिक रुपमा अतिविपन्न, गरिब तथा उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिने भएको छ । शु्क्रबार विद्यालयमा आयोजित कार्यक्रमका बीच नेकपा एमालेका उपमहासचिव तथा पूर्व पराष्ट्रमन्त्री प्रदीप ज्ञावली, बानियाँका छोराहरु प्रकाश र किरण बानियाँले उक्त कोषको रकम विद्यालयका प्रधानाध्यापक सोमनाथ ढुङ्गानालाई हस्तान्तरण गर्नुभयो । पाँच लाखको अक्षयकोषलाई भविष्यमा २५ लाख रुपियाँसम्म पुर्याउने लक्ष्य रहेको परिवारले बताएका छन् ।

छात्रवृत्ति कोष स्थापना कार्यक्रममा बोल्दै पूर्व परराष्ट्र मन्त्री ज्ञवालीले सरकारले शिक्षामा लगानी बढाउनु पर्ने बताउनुभयो । ‘नेपालका विद्यार्थीहरुलाई अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने बनाउनु पर्छ, त्यसका लागि सरकारले शिक्षामा न्युनतम २० प्रतिशत लगानी गर्नुपर्छ,’ उहाँले भन्नुभयो ।

कोषका संस्थापक संरक्षक किरण बानियाँले वुवाको शिक्षाको क्षेत्रमा सेवा गर्ने चाहनालाई पुरा गर्नका लागि कोष स्थापना गरेको बताउँदै गरिव, दलित, असहाय, तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिने बताउनुभयो । हाल ५ लाखबाट सुरु गरिएको कोषलाई वृद्धि गर्दै २५ लाख पुर्‍याउने लक्ष्य रहेको पनि उहाँले बताउनुभयो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सोमनाथ ढुङ्गानाले विद्यालयका पूर्व शिक्षक अभिभावक संघ सदस्य समेत रहनुभएका स्व. हिरा बहादुर बानियाँको सामाजिक योगदानको चर्चा गर्नुहुँदै विद्यार्थीको शैक्षिक उन्नयनमा टेवा पुग्ने बताउनुभयो ।
कार्यक्रममा रु बानियाँ परिवारले रु ५० हजार बराबरको खेलकुद सामग्री विद्यालयलाई हस्तान्तरण गर्नुभएको थियो । त्यस्तै विद्यालयका ११४ जना विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई विद्यालय पोसाक तथा शैक्षिक सामग्री पनि हस्तान्तरण गरिएको कोषका संस्थापक संरक्षक किरण बानियाँले जानकारी दिनुभयो ।

कार्यक्रममा नेकपा एमालेका अध्यक्ष देवेन्द्र कटुवाल, बेनी नगरपालिका वडा नम्वर ६ का वडा अध्यक्ष कृष्णसिंह बानियाँ, प्रकाश माविका प्रधानाध्यापक लेख बहादुर हमाल, बेनी नगरपालिकाका शिक्षा अधिकृत कमल ढकाल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।