११ महिनामा सम्पन्न भयो बेनी–गलेश्वर सडकको कालोपत्रे
काेराेला पोस्ट ५ पुस २०८०, बिहिबार

म्याग्दी, ५ पुस। उत्तर–दक्षिण जोड्ने कालिगण्डकी कोरिडोर (बेनी–जोमसोम–कोरला सडक) योजना अन्तर्गत बेनी– गलेश्वर सडक स्तरोन्नती एवम् कालोपत्रेको काम ११ महिनामा सकेर निर्माण ब्यवसायी सुवासचन्द्र कार्कीले चौतर्फी रुपमा प्रंशसासंगै चर्चा पाएका छन् । अन्य योजना ढिलासुस्ती गर्ने निर्माण ब्यवसायीलाई चुनौती दिएका छन् ।

कालीगण्डकी नदीको कटान, सडक माथिबाट आउने पहिरो र बाढीले छियाछिया बनेको, सवारीसाधन चालन र यात्रुलाई सास्तीपूर्ण बनेको बेनी गलेश्वर खण्ड २०८१ पुस मसान्तमा सम्पन्न गर्ने लक्ष्यसहित २०७९ पुस १७ गते आयोजना र निर्माण कम्पनी मंगलादेवी सुवास कन्ट्रक्सन प्रा.लीविच सम्झौता भएको थियो । जीर्ण सडकमा करिव १०मिनेट लाग्ने बाटो अहिल्य कालोपत्रे भएपछि २ मिनेटमा बेनी गलेश्वर आवातजावत गर्न सहज भएको छ।

उत्तर–दक्षिण जोड्ने कालिगण्डकी कोरिडोर सडक योजना अन्तर्गत बेनी–गलेश्वर सडक खण्डको कालोपत्रे काम मंसिर मसान्तमा सम्पन्न भएको छ । राष्ट्रिय गौरबको आयोजना मानिएको कालीगण्डकी कोरिडोरको (बेनी–जोमसोम–कोरला सडक) योजना अन्तरगत बेनी– गलेश्वर खण्डमा निर्माण कम्पनी मङ्गलादेवी सुवास कन्ट्रक्सन प्रालीले दूई बर्षमा सक्नुपर्ने कालोपत्रेको काम एकबर्षभित्रै सकेका छन् ।

बेनी–जोमसोम कोरला सडकका ईन्जिनियर अच्युत विलास पन्तले कोरिडोर अन्तरगत ठेक्का लागेका खण्डमध्ये बेनी– गलेश्वर खण्ड सबभन्दा छिटो र छोटो समयमा डिविएसडी किसिमको कालोपत्रे काम सकिएको बताउनुभयो ।
उहाँले निर्माण कम्पनीले २०७९ सालको माघ ६ गतेबाट सुरु गरेको योजनाको काम ११ महिनाको अवधीमा सडक तलमाथिको पर्खाल, नाली, चार वटा कल्भट, सडक फराकिलो बनाउने काम, सबवेस र २ सय मिटर आरसिसी ढलानसहित सकेर एक किलोमिटर ९ सय मिटर सडकको बेससंगै डिविएसडी किसिमको कालोपत्रेको काम मंसिर मसान्तसम्ममा सकेको बताउनुभयो । साना साना काम बाहेक कालोपत्रेको काम पूर्ण रुपमा सकिएको इन्जिनियर पन्तले जानकारी दिनुभयो ।

१३ महिना अगाबै काम सिध्याउने योजनासहित ठेक्का सम्झौता लगत्तै योजना स्थलमा उपकरण र मजदुर परिचालन गरेर सम्झौता अनुसारको कालोपत्रे काम सकेको मङ्गलादेवी सुवास कन्ट्रक्सन प्रालीका सञ्चालक एवम् निर्माण व्यवसायी सुवासचन्द्र कार्की बताउनुभयो । यसलाई समयअवधी भन्दा १३ महिना अघिनै काम सम्पन्न गराउनका लागि कोरिडोरका ईन्जिनियर, बेनी नगरपालिकाका मेयर सुरत केसी र म्याग्दीका सरोकारवाला, स्थानीयबासीले सहयोग गरेर काम समयमै सक्ने बातावरण बनेको भन्दै सबैलाई निर्माण ब्यवसायी कार्कीले धन्यवाद दिनुभएको छ ।

दुई किलोमिटर १०२ मिटर सडक कालोपत्रे गर्नका लागि मङ्गलादेवी सुवास कन्ट्रक्सन प्रालीले भ्याट/पिएससहित १२ करोड ७५ लाख ९४ हजार ४३६ रुपैयाँमा २०७९ पुस १७ गते आयोजनासंग सम्झौता भएको थियो । ठुलो लगानीमा बेनी नगरपालिका–९ गलेश्वरमा याक होटल संचालन गरेका बाबुराम आचार्यले म्याग्दीमा यति छिटो अझैसम्म कुनै निर्माण ब्यवसायीले नसकेको बताउँदै समय अगावै योजनाको काम सक्ने नमूना निर्माण ब्यवसायी कार्कीको प्रशंसा गर्नुभयो ।

यस सडक स्तरोन्नति समयमै सम्पन्न हुदाँ बेनी नगरपालिकासहित रघुगंगा र अन्नपूर्ण गाउँपालिका र मुस्ताङवासी र घुम्न आउने पर्यटकलाई आवातजावातमा सहज भएको छ।