म्याग्दी, २८ मंसिर । बेनी नगरपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता बेनीस्थित खुल्लामञ्चमा सुरु भएको छ । विद्यालय तहमा रहेका खेल प्रतिभाको पहिचान र प्रवद्र्धन गर्न आयोजित प्रतियोगितामा बेनी नगरपालिकाभित्रका २५ विद्यालयले सहभागीता जनाएका छन् ।
तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा भलिबल, मार्सलआर्ट, एथलेटिक्स र कबड्डी विद्यामा विद्यार्थीहरुबिच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा बिजेतालाई नगद रु ५१ हजारको साथमा रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्रद्धार पुरस्कृत गरिने नगरपालिकाका सामाजिक विकास समितिका संयोजक एवम् प्रतियोगिताका संयोजक चक्र केसीले जानकारी दिनभयो ।

प्रतियोगितामा दोस्रो र तेस्रो हुने विद्यालयलाई क्रमश : नगद रु ४० हजार र ३० हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्रद्धार पुरस्कृत गरिनेछ । प्रतियोगितामा समावेश छात्र भबिलल खेलमा १० र छात्रा भलिबल खेलमा ४ विद्यालयले सहभागीता जनाएका छन् ।
प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य खमबहादुर गर्वुजाले खेलकुदले विद्यार्थीहरुमा प्रतिस्पर्धी क्षमताको विकास गराउनुको साथै लुकेर रहेको खेल प्रतिभाको पहिचान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले बेनीको खुलामञ्चलाई स्तरीय रंगशालाको रुपमा विकास गर्न तीन तहकै सरकारबिचमा सहकार्य गरि प्राथमिकतामा राख्न आफ्नोतर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा संविधासभा सदस्य नवराज शर्मा र गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले हरेक बर्ष आयोजना हुने विद्यालय स्तरका प्रतियोगिताहरुले खेलाडीहरुको प्रतिभा पहिचान गरि क्षेत्रिय र राष्ट्रिय स्तरमा पुर्याउन सहयोगी भूमिका खेलेकोमा जोड दिनुभयो ।
नगरपालिकाका मेयर सुरत केसीले तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितालाई व्यवस्थित बनाउन आबश्यक तयारीका साथ खेलकुद प्रतियोगिता सञ्चालन हुने जानकारी दिनुभयो । नगरपालिकाका उपमेयर ज्योति लामिछानेले खेलकुद गतिविधिमा विद्यालयहरुले छात्र र छात्राहरुलाई समान अवसर दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले यस प्रतियोगितामा उतकृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई प्रदेश र संघमा पुर्याउन जिल्ला खेलकुद विकास समितिले तयारी थालेको बताउनुभयो ।

नगरस्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा एथलेटिक्स तर्फको एक हजार पाँच मिटर दौडको छात्र र छात्रा दुवैतर्फ प्रकाश माविका सहभागि विद्यार्थीले स्वर्ण जितेको छन् । २१ विद्यालय सहभागि भएको एकहजार पाँच सय मिटर दौडमा प्रकाश माविका ईश्वर न्यौपाने र मन्जिता दमैले स्वर्ण जितेका हुन् ।




