बालाचतुर्दशी पर्वमा गलेश्वरमा ६ लाख भेटि संकलन
काेराेला पोस्ट २६ मंसिर २०८०, मंगलबार

म्याग्दी, २६ मंसिर । बालाचतुर्दशी पर्वको अवसरमा बेनी नगरपालिका–९ स्थित गलेश्वर शिवालय मन्दिरमा ६ लाख रुपैयाँ भेटि संकलन भएको छ ।

सोमबार गलेश्वरमा पुजाआजा र सतविज छर्न आएका भक्तजनहरुले चढाएको भेटी मंगलबार सार्वजनिक गर्दा ६ लाख दूई हजार २३२ रुपैयाँ भेटि संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कोषाध्यक्ष गौमाया पुनले जानकारी दिनुभयो ।

गलेश्वरमा लाग्ने मेला पर्वको अवसरमा एकै दिनमा संकलन भएको भेटिमध्ये यसपालीको बालाचतुर्दशीमा संकलन भएको रकम अहिल्यसम्मकै धेरै रहेको कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो ।

गलेश्वरमा सतबीज छर्न म्याग्दीको विभिन्न गाउँका साथै पर्वत, बागलुङ, मुस्ताङ, कास्की, चितवन र नवलपरासी लगायतका स्थानबाट ५० हजार भन्दा बढी भक्तजनाहरु आउनुभएको अध्यक्ष रेग्मीले बताउनुभयो ।

कालिगण्डकी नदीको किनारमा नौ रोपनी विशाल चक्रशिलामा रहेको शिवालयमा मन्दिरमा लाग्ने ठुलो पर्व बालाचुर्दशी पर्व हो । बालाचतुर्दशी पर्वमा पितृ उद्धारका लागि गलेश्वरमा आएका भक्तजनहरुले कालीगण्डकी नदीमा स्नान गरी धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो, केरा, उखु, सुन्तला, भोगटे, कागती लगायतका सात भन्दा माथि प्रकारका बीउ छर्ने गर्छन् ।