म्याग्दी, ५ मंसिर । पछिल्लो समय म्याग्दीमा घुम्न आउने पर्यटकलाई लक्षित गरेर सुविधायुक्त होटल थपिने क्रम बढेको छ। म्याग्दीको सदरमुकाम बेनी, गलेश्वर, पोखरेबगर, पुनहिल, भुरङतातोपानी, सिंगातातोपानी, मंगला, दरवाङमा ब्यवसायीले ठुलो लगानी गरेर होटल सुविधा विस्तार गरेका हुन् । होटल सुविधा विस्तार भएसंगै हिमालपारीको जिल्ला मुस्ताङ र म्याग्दी घुम्न आउने पर्यटकलाई खानेबस्नेको अभावले एकैरातमा पोखरा लगायतको क्षेत्रमा जानुपर्ने बाध्यता हटेको होटल ब्यवसायी बताउछन् ।
पछिल्लो समय बेनी नगरपालिका–९ स्थित धार्मिक पर्यटकीय स्थल गलेश्वरमा सुविधायुक्त होटल थपिएको छ । पाहुनाहरुको मागलाई लक्षित गर्दै बेनीको अस्पतालचोकमा रहेको होटल याकले गलेश्वरमा क्षमता बढाउदै होटल संचालनमा ल्याएको छ । याक होटलका प्रबन्धक बासुदेव सुवेदीले अपाङ्गमैत्री भवनमा पाहुनाका लागि ४० वटाकोठा भएको संचालनमा आएको बताए । “म्याग्दी, मुस्ताङ घुम्न आउने पाहुना र पर्यटकलाई लक्षित गरेर गलेश्वरमा आफ्नै भवन बनाएर होटल स्थानान्तरण गरिएको छ,”– उनले भने ।
“चार/चार वटा स्विट र डिलक्स कोठा रहेको होटलका सबै कोठामा एट्याच बाथरुम सहित छन् । तातोचिसो पानी, टिभी, इन्टरनेटको सुविधा भएको होटलका संरचनालाई अपाङ्गमैत्री बनाएका छौ । एक दिनमा १५० जना बास बस्न सक्ने क्षमता रहेको छ । होटलको पाहुना बस्ने घर, किचन र डाइनीङ हल फरक फरक छन् । १०० जना क्षमताको सभाहल तयार हुदैछ ।” याक होटलका सञ्चालक ताराप्रसाद आचार्य (बाबुराम) करिब पाँच वर्ष साउदी अरबमा काम गरेर फर्किएपछि वि.स. २०६४ बाट होटल क्षेत्रमा लागेका थिए । सो होटलमा हाल २२ जनाले रोजगारी पाएका छन् । पाहुनाहरुको इच्छा र चाहना अनुसार सुविधायुक्त होटल सञ्चालन गरेको सञ्चालक आचार्यले बताए । बेनी बजारदेखि तीन किलोमिटर उत्तरतर्फ रहेको गलेश्वर हिन्दु तथा वौद्ध धर्मावलम्बीहरुको साझा तिर्थस्थल मुक्तिनाथको प्रवेश विन्दु हो ।
याक होटलको कोठाबाटै गलेश्वर मन्दिर अवलोकन गर्न सकिन्छ । होटलमा स्थानीय उत्पादनको कोशेली घर पनि सञ्चालन गर्ने तयारी भएको छ । गलेश्वरमा दुई वर्षअघि होटल ताजमहल खुलेको थियो । प्याराडाइज र रिभरसाइड होटल नयाँ व्यवस्थापनका साथ सञ्चालन गरेका छन् । बेनी–जोमसोम सडक स्तरोन्नति भएसंगै गलेश्वर क्षेत्रमा होटलमा लगानी बढेको छ । पुराना होटलले क्षमता बढाएका छन् ।




