म्याग्दी २५ कात्तिक । अन्नपूर्ण गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० को वार्षिक समिक्षा, २०८०/०८१ को प्रथम चौमासिक समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको छ। शुक्रबार गाउँपालिकाको केन्द्र पोखरेबगरमा आयोजना गरिएको कार्यक्रममा पालिकाका कार्यरत विभिन्न शाखाले पहिलो चौमासिकको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा राजाराम बरुवाल, रामकृष्ण खड्का, राम बहादुर पूर्जा, याम बहादुर पुन, दुर्गादत्त सुवेदी लगायतका सहभागीहरुले गाउँपालिकाको सार्वजनिक सेवा प्रवाह तथा विकास निर्माणका विषयमा विभिन्न गुनासा तथा सुझावहरु राख्नुभएको थियो ।
सहभागीहरुले गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि जग्गा प्राप्तीमा ढिलासुस्ती भएको, रातोपानीको तातोपानी कुण्ड ठेक्का प्रक्रियामा जान नसक्दा वेवारिसे जस्तै बनेको, घारको मूक्तिमार्ग क्याम्पसमा पालिकाको आर्थिक सहयोग प्रयाप्त नभएको, पोखरेबगर, घार चित्रे घोडेपानी सडक निर्माण कार्य ढिलासुस्ती भएको, अध्यक्ष कप खेलकुदमा अतिथि सत्कारका लागि धेरै बजेट खर्च गर्ने गरेको, प्रदेश र संघका योजनाहरको पालिकाबाट प्रभावकारी अनुगमन नभएको, सरकारी विद्यालयमा अध्यापन गर्ने शिक्षकले आफ्नो सन्तानलाई नीजि विद्यालयमा अध्ययन गराउँदा सरकारी विद्यालयमा विद्यार्थी घटेको लगायतका गुनासाहरु राख्नुभएको थियो ।
त्यस्तै सहिभागीहरुले जेष्ठ नागरिकहरुलाई वितरण गर्ने न्यानो कपडा यहि जाडोको समयमा तत्काल वितरण गर्न, कृषि र पशु शाखाबाट अनुदानमा वितरण हुने कृषि विउविजनहरु उपयुक्त समयमा वितरण गर्ने व्यवस्था गर्न, अन्नपूर्ण आधार शिविरमा पर्यटनको आगमन बढेकाले थप पूर्वाधार निर्माणका लागि बजेट व्यवस्थापन गर्न समेत आग्रह गरेका थिए । घोरेपानी र कास्कीको अन्नपूर्ण गाउँपालिका ११ को सिमानामा रहेको धरमडाँडामा कास्कीले सिमा मिच्दै गएको प्रति पालिका वेखवर बनेको प्रति सहभागीले चिन्ता व्यक्त गरेका थिए । सहभागीहरुले उठाएको प्रश्न तथा जिज्ञासाहरुको जवाफ दिदै गाउँपालिका अध्यक्ष भरत पुनले अन्नपूर्ण गाउँपालिकाका विभिन्न पर्यटकीय स्थलहरुको प्रवर्धनमा पालिकाले चासो दिएको बताउनुभयो ।
अन्नपूर्ण आधार शिविरमा थप पूर्वाधार विस्तारका कार्यहरु संचालन गर्ने योजना बनाएको भन्दै उहाँले त्यसका लागि संघ तथा प्रदेश सरकार संग पनि बजेटको माग गरिने बताउनुभयो । दोवामा निर्माण सम्पन्न भएको ५ शैयाका अस्पताल संचालनका लागि संघ सरकार संग आवश्यक पहल गरिएको र सरकारले पहिलो चरणमा १०० वटा अस्पताल संचालन गर्ने तयारी गरेकोमा दोवाको पनि त्यसैभित्र पर्ने बताउनुभयो ।
घारमा रहेको क्याम्पस संचालनका लागि पालिकाले सधै सहयोग गर्ने बताउँदै उहाँले सरकारी विद्यालयमा पढाउने शिक्षकहरुले आफ्ना बालबच्चाहरुलाई पनि सरकारी विद्यालयमै पढाउने वातावरण सृजना गर्न कस्तो नीति बनाउने भन्ने विषयमा छलफल भईरहेको बताउनुभयो । नागरिकको स्वास्थ्य, शिक्षा, आवास, विपत व्यवस्थापन, रोजगार सृजना लगायतका क्षेत्रमा पालिकाले जिम्मेवारपूर्ण ढंगले अभिभावकत्वको भूमिका निभाउने बताउदै जनभावना र जनचासो अनुरुपका विकासमा पालिका सधै तत्पर रहेको प्रतिवद्दता जनाउनुभयो ।
गाउँपालिकाका उपाध्यक्ष दिवा कुमारी तिलिजा पुनले अन्नपूण गाउँपालिका र कास्की संग सिमा जोडिएको धरमडाँडा स्थित मुल्डी भ्यु पोइन्ट क्षेत्रमा सिमा निर्धारण र त्यहाँको पर्यटन प्रवर्धनका लागि दुई पालिकाकै प्रतिनिधिहरु बसेर छलफल गरिने बताउनुभयो । उहाँले पालिका, संघ र प्रदेशका योजनाहरुको अनुगमन प्रभावकारी बनाईएको तर कतिपय योजनाहरु पालिकालाई समेत जानकारी नभई संचालन हुनेुहँदा त्यस्ता योजनाहरुको अनुगमन पालिकाबाट नभएको बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि पोखरेबगरमा प्राप्त भएको निशुल्क जग्गा ३ रोपणी भएको तर उक्त जग्गा माथि विद्युतको राष्ट्रिय प्रसारण लाईन परेकाले प्राविधिक रुपमा प्रयोग हुने जग्गा १ रोपनी ८ आना मात्रै भएको बताउनुभयो । उहाँले प्रशासकीय भवन निर्माणका लागि जग्गाको मापदण्ड ६ रोपनी हुनुपर्ने भन्दै जग्गा अपुगै कारण आडैमा रहेको सार्वजनिक जग्गा समेत गरि भवन निर्माण गर्ने कि नयाँ ठाउँमा जग्गा खरिद गर्ने भन्ने विषयमा छलफल भईरहेको बताउनुभयो ।
रातोपानी स्थित तातोपानी कुण्डमा ३ पटक सम्म सुचना जारी गर्दा पनि ठेक्का प्रक्रियाका लागि टेण्डर नपरेकाले हाल ३ लाख भनिएको रकमलाई घटाएर टेण्डर आव्हान गर्ने कि भन्ने विषमा राजस्व परामर्श समितिको वैठक वेसेर टुंगो लगाईने बताउनुभयो । पालिकाका पर्यटकीय स्थलहरु प्राप्त भएको रोयल्टी खर्च गर्ने प्रावधान कस्तो छ भन्ने सहभागीको जिज्ञासाको जवाफमा प्रमुख प्रशासकीय अधिकृत सुवेदीले रोयल्टी वापत उठेको रकमको ५० प्रतिशत पालिकामा, २५ प्रतिशत सम्वन्धित वडामा र २५ प्रतिशत नजिकको वडालाई दिने प्रावधान बनाईएको तर यसमा हेरफेर हुन सक्ने बताउनुभयो । पालिकाले आयोजना गर्ने अध्यक्ष कप खेलकुद प्रतियोगितामा अनावश्यक खर्च कटौती गर्दै लगिएको पनि सुवेदीले बताउनुभयो ।
जेष्ठ नागरिक र अपांग व्यक्तिका लागि न्यानो कपडा वितरण गर्न यस वर्ष ५ लाख बजेट विनियोजन गरिएको बताउँदै उहाँले प्रत्येक वडाबाट १५ जनाका दरले लाभग्राहीको तथ्यांक संकलन कार्य र न्यानो कपडा खरिद कार्य प्रक्रियामा रहेकाले मंसिरको पहिलो सातामानै वितरण गरिने बताउनुभयो । साथै उहाँले कृषि र पशु संग सम्वन्धित अनुदानका सामग्रीहरु कृषकलाई उपयुक्त समयमानै वितरण गर्ने प्रतिवद्दता समेत जनाउनुभएको छ । कार्यक्रमा उठेका सवालहरुको अन्नपूर्ण गाउँपालिका वडा नम्वर ६ का वडा अध्यक्ष राम बहादुर खड्काले पनि जवाफ दिनुभएको थियो ।




