म्याग्दी, १८ असोज । बेनी नगरपालिका– ३ भकिम्लीमा रहेको जयन्ती माध्यमिक विद्यालयमा समुदायको अगुवाईमा सुविधा सम्पन्न विद्यालय भवन निर्माण भएको छ । विकास निर्माणमा सरकारी निकायको मात्रै भर पर्ने परम्परालाई तोड्दै देश तथा विदेशमा छरिएका भकिम्लीबासीले समुदायकै नेतृत्वमा विशाल विद्यालय भवन पुननिर्माण गरेर जनसहभागीतामुलक विकासको नमुना प्रस्तुत गरेका छन् ।
वि.स. २०७२ सालदेखि जयन्ती माविको विद्यालय भवन पुननिर्माण अभियान सुरु गरेका भकिम्लीबासीकै नेतृत्वमा अहिले दुई तले २२ वटा कोठा रहेको विशाल र व्यवस्थित विद्यालय भवन तयार भएको छ । विद्यालय भवन संगै प्रवेशद्धार, खेलमैदान र प्याराफिट निर्माण सहित विद्यालयलाई घेरावार समेत गरिएको छ । छरिएर रहेका साना– साना कक्षाकोठा रहेको र जिर्ण बन्दै गएको साविकको जयन्ती माविको अहिले भौतिक स्वरुप फेरिएको विद्यालयका प्रधानध्यापक भोजबहादुर जिसीले बताउनुभयो । साँघुरा र पानी चुहिने अवस्थामा पुगेका कक्षाकोठामा पठनपाठन गराउनुपर्ने बाध्यता विद्यालय पुननिर्माणसंगै हटेको छ ।
गाउँका बालबालिकाहरुले सुविधासम्पन्न र भौतिक पूर्वाधारयुक्त भवनमा बसेर सहज रुपमा पठनपाठन गर्ने अवसर पाएका छन् । विद्यालय भवनका लागि सरकारी निकाय धाउँदा थाकेका स्थानीयबासीले प्रवासीहरुको दरिलो साथ पाएपछि आफ्नै बलबुतामा विद्यालयको भवन ठडाउने साहस गरेका थिए । ‘‘प्रवासमै रहनुभएका स्थानीयबासीले विद्यालय भवन बनाउन सहयोग गर्ने प्रतिबद्वता आएपछि अभियानको थालनी भएको थियो, पछि सरकारी निकाय, संघ संस्था र व्यक्तिगत सहयोग पनि जुट्न थाल्यो, अन्तत् अहिलेको यो सुविधासम्पन्न भवन सम्भव भयो’’– विद्यालयका प्रअ जिसीले भन्नुभयो ।
विद्यालय भवन पुननिर्माण गर्न गाउँमै रहेका स्थानीयबासीले पनि उत्साहजनक रुपमै जनश्रमदानदेखि नगद सहयोग जुटाएका थिए । प्रवासीले पसिना बेचेको रकम सहयोग गर्दा गाउँलेले घरको अन्नपात र गाईभैँसी बेचेर विद्यालयलाई सहयोग गरेको विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष रत्न जिसीले बताउनुभयो । समुदायको अग्रसरतामा संघ संस्था र सरकारी तवरबाट समेत साथ थपिएको कारण भवन पुननिर्माणमा राहत भएको उहाँको भनाई छ ।
यस भवन बनाउने अभियानमा नगद रु ५ सयदेखि १० लाखसम्म व्यक्तिगत सहयोग गरेको विद्यालयले जनाएको छ । कक्षा १० सम्म पठनपाठन हुने यस विद्यालयमा अहिले १७६ जना बालबालिकाहरु अध्ययनरत छन् । यो सुविधासम्पन्न भवनमा कक्षाकोठा भवन सहित कम्प्युटल्याब, विज्ञान प्रयोगशाला, लाइब्रेरी, कार्यालय र स्टाफ कक्ष लगायत विद्यालयको सम्पूर्ण शैक्षिक गतिविधि सञ्चालन हुन थालेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर पुनले बताउनुभयो । उहाँका अनुसार, पुननिर्माण भएको विद्यालय भवनको एक समारोहका बिच उद्घाटन गर्ने तयारी समेत गरिएको छ । उद्घाटन कार्यक्रममा विद्यालयलाई सहयोग गर्ने सहयोगदाताहरुलाई सम्मान समेत गरिनेछ ।
विद्यालय भवन पुननिर्माणमा समुदायका मात्रै २१२ जना व्यक्तिगत चन्दादाता छन् । अमेरिका, हङकङ, स्पेन, दुबै, साउदी र जापानमा रहेका भकिम्लीबासीको अगुवाईमा संकलन भएको सहयोग रकममा सयौँ जनाले हातेमालो गरेका छन् । हिमालयन प्रोजेक्ट बेल्जियम र नेपाल सरकारका विभिन्न निकायले समेत पुननिर्माण अभियानमा बजेट उपलब्ध गराएका छन् । विद्यालय भवन पुननिर्माणमा करिब रु ३ करोड ५० लाख खर्च भएपनि अहिलेसम्म चन्दादाता, सहयोगदाता, संघ संस्था र सरकारी तवरबाट रु ३ करोड २३ लाख ५५ हजार मात्रै सहयोग जुटेको विद्यालयले जनाएको छ । कुल लागतको आधा भन्दा बढी रकम समुदाय र देश विदेशमा रहेका भकिम्लीबासीकै नेतृत्व र अगुवाईमा जुटईएको हो । विद्यालयलाई चन्दादाताहरु मार्फत थप सहयोग आउने क्रम जारी छ । नेपाल सरकारका विभिन्न निकायबाट रु १ करोड १७ लाख बजेट प्राप्त हुँदा समुदायले व्यक्तिगत चन्दाबाट रु ९५ लाख, विभिन्न संघ संस्थाहरुबाट ९ लाख र विभिन्न देशमा रहेका भकिम्लीबासीहरुको नेतृत्वमा ६२ लाख बढी सहयोग जुटाएका थिए भने हिमालयन प्राजेक्ट बेल्जियमबाट रु ३८ लाख सहयोग भित्र्याईएको थियो ।
पुरानो भवन जिर्ण भएको कारण गाउँका सबै सरोकारवाला र प्रवासीहरुमा बृहत छलफल गरेर थालिएको अभियानबाट विद्यालयमा सुविधा सम्पन्न भवन बनेको विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष समेत रहनुभएका वडा अध्यक्ष पदम बहादुर पुनले बताउनुभयो । ‘‘२०४५ सालमा बनाईएका साँघुरा भवनहरुमा टिनको छानो चुहिने र पर्खाल भत्कने अवस्थामा पुगेका थिए, समुदायकै अगुवाईमा विद्यालय पुननिर्माण अभियान सञ्चालन गरिएको थियो, स्थानीयबासी र प्रवासी भकिम्लीबासीले मन फुकाएर सहयोग गर्नुभयो, संघ संस्था र सरकारी तवरवाट पनि अभियानमा हातेमालो भयो, अब जयन्ती मावि भौतिक पूर्वाधारयुक्त बनेकोछ, अबको प्राथमिकता विद्यालयको शैक्षिक गुणस्तर सुधारमा केन्द्रीत हुनेछ’’–वडा अध्यक्ष पुनले भन्नुभयो ।
यो विद्यालय भवन पुनिर्माणमामा मात्रै होइन, विद्यालयको स्थापनादेखि नै भकिम्लीबासीले यस विद्यालयलाई निरन्तर साथ, सहयोग गर्दै आएका छन् । वि.स. २०१६ साल पौष १६ गते सत्यमान पुनको नेतृत्वमा गाउँमा यस विद्यालयको थालनी भएको इतिहास छ । वि.स. २०१७ सालमा कक्षा १ सञ्चालन गर्ने अनुमति प्राप्त गरेको यस विद्यालयले आजसम्म आईपुग्दा समयको यो खालखण्डमा धेरै आरोह अवरोध, विविध समस्या र चुनौतिलाई सामाना गर्दै अघि बढेको देखिन्छ । तत्कालिन समयमा भकिम्लीको रानीपधेरामा अवस्थित यस विद्यालयलाई स्वर्गीय नारायण देवी रोकाले १ रोपनी जग्गा विद्यालयलाई उपलब्ध गराएपछि हालको स्थानमा स्थानान्तरण गरिएको थियो । वि.स. २०२८ सालमा प्राविबाट निमावि तहमा स्तरउन्नती भएको यो विद्यालयमा वि.स. २०५१ सालमा महायज्ञ सञ्चालन गरेर विद्यालयलाई माध्यमिक तहमा स्तरबृद्धि गरिएको थियो ।
लामो समयसम्म नीजि स्रोतबाट मावि सञ्चालन गरेको यस विद्यालयमा समुदायले शिक्षकको तलब सुविधा र विद्यालयको भौतिक पूर्वाधारमा स्थापनाकालदेखि नै अतुलनिय योगदान गर्दै आएका छन् । तत्कालिन समयमा पिपलको बोट मुनीको चौतारीबाट पठनपाठन गराउन सुरु भएको यस विद्यालय आजको यो सुविधासम्पन्न भौतिक पूर्वाधारयुक्त बन्ने ठाउँसम्म ल्याइपुर्याउन भकिम्लीका शिक्षाप्रेमी, राजनीतिज्ञ, समाजसेवी, बुद्धिजिवि, युवाक्लब, आमा समूह, स्वदेश तथा विदेशमा छरिएका भकिम्लीबासीको योगदान अतुलनीय छ ।




