म्याद गुर्जिएका दैनिक उपभोग्य सामग्री गाउँका पसलमा बढी भेटिए
काेराेला पोस्ट २७ भदौ २०८०, बुधबार

म्याग्दी, २७ भदौ ।। म्याग्दीको ग्रामिण बस्तीका पसलमा म्याद गुर्जिएका दैनिक उपभोग्य सामग्री बढी भेटिने गरेका छन् । सडक सुविधाको विस्तारसंगै गाउँका पसलहरुमा ब्यवसायीले म्याद गुर्जिन लागेका तयारी खाना पुर्‍याउने गरेको अनुगमनको क्रममा भेटिएको हो ।

गाउँमा तयारी खाद्य सामाग्रीको ब्यापार गर्ने ब्यापारीहरुमा सामानहरूको म्याद भएको वा सिद्धिएको बारे थाहा नपाउदाँ उपभोक्ताले म्याग्द गुर्जिएका सामाग्री किनेर खान बाध्य छन् । बजारका ब्यावसायीले म्याद सिद्धिन लागेका सामाग्री संस्तोमा गाउँका पसलमा पुर्‍याएको भेटिएको अन्नपूर्ण गाउँपालिकाको बजार अनुगमन इकाईका सचिव एवम् प्रशासकिय अधिकृत भगवती खड्काले बताउनुभयो ।

उहाँले बजार क्षेत्रबाट गाउँमा सामान लिएर आउने सवारीसाधनलाई पालिकाबाट अनुगमन गरेर पठाउने वातावरण निर्माण गर्ने सुझाव गाउँका खाद्यान्न ब्यापारीहरुबाट आएको बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष दिवाकुमारी पुनको नेतृत्वमा भदौ २५ र २६ गते अन्नपूर्ण गाउँपालिकाको वडानम्वर ५ को शिख, वडानम्वर ६ को घार र पर्यटकियस्थल घोरेपानीमा रहेका ३६ वटा होटल, १९ वटा किराना पसल, लगायतका ६० वटा पसल अनुगमन गर्दा करिब ३ लाख बराबरको म्याद गुर्जिएको सामाग्री भेटिएको अधिकृत खड्काले बताउनुभयो ।

“अनुगमन क्रममा धेरै जसो पेय पदार्थ (कोकाकोला, जुस र वियर) र खाद्यान्नतर्फ चामल, पैदा, सोयाविन, कुरकुरे, लेज, मसला, भुजा, मिठाई, सस, लगायतका दैनिक उपभोग्य सामाग्रीहरुको म्याद नाघेको भेटिएको छ”, उहाँले भन्नुभयो । “अनुगमनमा म्याद नाघेका ९ किसिमका औषधी पनि समुदायमा संचालित स्वास्थ्य संस्थामा भेटिएको छ । पहिलो चरणमा उपभोक्ता र ब्यवसायीहरुलाई खाद्य सामाग्री राख्दा सचेत भएर राख्न सुझाव दिएको छौ ।”

म्याद सिद्धिन लागेका आवश्यकताभन्दा बढी तयारी खाना (जंकफुड) र छुट दिएर गाउँका पसलमा बजारका ब्यापारीले पुर्‍याएको भेटिएको उपाध्यक्ष दिवाकुमारी पुनले बताउनुभयो ।

“गाउँमा नुन, खुर्सानाी, तेल र चामल बाहेक अन्य अनावश्यक वस्तुहरू बढी आएको छ”, उपाध्यक्ष पुनले भन्नुभयो । “अनुगमनको क्रम भेटिएको कमी कमजोरीहरुलाई तत्काल सुधार गर्न निर्देशन दिएका छौ । उपभोक्तालाई गुणस्तर बस्तु उपभोग गराउने वातावरण तयार गर्न अनुगमनलाई निरन्तरता दिन्छौ ।”

अन्नपूर्ण गाउँपालिकाको अनुगमन समितिले गत विहिबार बेनी जोमसोम सडक अन्तरगत पर्ने पोखरेबगर, भुरुङतातोपानी र दाना क्षेत्रमा संचालित होटल, खाद्यान्न, वर्कसप, मेडिकल कस्मेटिक, ईलेक्ट्रोनिक्स लगायतका ७० वटा पसलहरुको अनुगमन गरेको थियो ।