बेनी–जोमसोम सडक: दाना खण्डमा ५० भन्दा बढी पहिरो, सिधा यातायात अवरुद्ध
काेराेला पोस्ट ३ भदौ २०८०, आइतबार

म्याग्दी, ३ भदौँ। शुक्रबार साझँ परेको ठुलो बर्षाले बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको दाना खण्डमा साना ठुला गरेर ५० भन्दा बढी पहिरोले सिधा यातायात दुईदिन देखि अवरुद्ध बनाएको छ।

बेनी–जोमसोम सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका–२ तातोपानीदेखि वडा नं. ३ को दाना काभ्रेभिरसम्मको करिव ५ किलोमिटर सडकमा साना ठुला गरेर ५० भन्दा बढी पहिरो रहेको बेनी–जोमसोम–कोरोला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले बताउनुभयो । उहाँले अन्नपूर्ण गाउँपलिका वडानम्वर ३ को दाना खण्डमा बाढी पहिरो र काली गण्डकी नदीको बहाफले सडक कटान गर्दा ठुलो क्षति भएको शेरचनले बताउनुभयो।

“कठिन र सागुरो भूगोल, गाउँमा पूग्ने जथाभावि सडक, कालीगण्डकी नदीको कटानले सडक क्षतविक्षत छ”, सुपरभाईजर शेरचनले भन्नुभयो । “ दिनको दुई/तिन वटा डोजर लगाएर पहिरो पन्छाउदा पनि दुईसम्म खुलाउन सकेका छैनौ, पानीसंगै आउने पहिरो र कालीगण्डकी नदीको कटानले सडकमा दिनदिनै क्षति पुगेको छ, खामभित्तामा भने सडकको फाउन्डेसन नै बगाएको छ, पहिरोले सडक जोखिमपूर्ण बनेको छ।”

बाढी, पहिरो, कटानले बेनी जोमसोम सडकमा सिधा यातायात अवरुद्ध हुदाँ पर्यटक, तिर्थालु, म्याग्दी र मुस्ताबासीको यात्रा र दैनिकी कष्टकर बनाएको भने जोखिमपूर्ण पैदलयात्रा गर्नुपरेको छ। सोमबारसम्ममा सिधा यातायात खुल्न सक्ने आयोजनाले जनाएको छ।