म्याग्दी, १ भदौँ । विश्वभर लोकप्रियता कमाइरहेको थालि नाचको उद्गम थलोको रुपमा चिनिएको रघुगंगा गाउँपालिका –७ को पर्यटकिय गाउँ चिमखोला । चिटिक्क र गुचुप्प घरहरु मिलेर बसेको चिमखोला बस्ती टाढाबाट हेर्दा आकर्षक देखिन्छ । यहाँ एक सय ८० घरपरिवारको बसोबास छ । मगर जाति बढी बसोबास रहेको चिमखोला गाउँ साँस्कृतिक विविधताले भरिपूर्ण छ ।

चिमखोला गाउँलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न स्थानीयले धौलागिरी आईसफल र रिखार जाने पर्यटकको लागि लक्षित गरेर कलासस्कृति संरक्षण तथा होमस्टे संचालन गरेका छन् । सडक सुविधासमेत पुगेको छ।
यहाँ थालि नाचका साथै जुरेचल्ला र टोपा नाच संगै सर्मजाले र कलस जुधाउने जस्ता मौलिक संस्कृति छन् । भूमे पुजाको अवसरमा भूमेलाई खुशी बनाउन कालोमोसो दल्ने संस्कृतिको महत्व र महिमा अझै बढी छ ।

मौलिक संस्कृतिलाई हराउन नदिन हरेक भुमेपुजा मेलामा मौलिक संस्कृतिहरु देखाउने र परम्परागत सस्कृतिलाई जर्गेना गर्ने कार्यक्रमहरुलाई निरन्तरता दिदै आएको वडाअध्यक्ष थकबहादुर पाईजाले बताउनुभयो । रघुगंगा गाउँपालिकाले चिमखोलालाई साँस्कृतिक गाउँको रुपमा पनि घोषणा गरेको छ ।







