बाढीग्रस्त कागबेनीमा छैन विद्युत र खानेपानी
काेराेला पोस्ट ३१ श्रावण २०८०, बुधबार

हिमाल पारिको जिल्ला मुस्ताङको बाढीग्रस्त कागबेनीमा तीन दिनदेखि खानेपानी र विद्युत आपूर्ति अवरूद्ध भएको छ। मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीका अनुसार बाढीले क्षतविक्षत तुल्याएको कागबेनीको आधा भागमा खानेपानी आपूर्ति हुन सकेको छैन। खानेपानी आपूर्ति आजबाट नियमित गरिने र सबैतिर विद्युत आपूर्ति हुन भने अझै केही दिन लाग्ने उनले बताए।

‘बाढीले क्षतिग्रस्त तुल्याएका पोलहरू ममर्त गरेर भोलिबाट आपूर्ति नियमित गर्न सकिन्छ कि भनेर लागिपरेका छौं,’ उनले भने, ‘खानेपानीचाहिँ आजबाट नियमित हुन्छ।’ आइतबार साँझ आएको मुक्तिनाथबाट उत्पत्ति हुने कागखोलामा आएको गेग्रानसहितको बाढीले २९ घर क्षतिग्रस्त बनोका थिए। १३ घरमा आंशिक क्षति भएको थियो। बाढी पसेका घरको भुइँतला पूरै लेदोले ढाकेकाले सेना, सशस्त्र र नेपाल प्रहरीसहितको टोलीले हिलो पन्छाइरहेको केसीले बताए।

‘राहतमा कुनै कमी हुन दिएका छैनौं। विस्थापितहरूको व्यवस्थापन भइसकेको छ। अहिले अवरूद्ध विद्युत, खानेपानी आपूर्ति गर्न र बजारतिर सोझिएको खोला प्राकृतिक बहावमा फर्काउन लागेका छौं,’ उनले भने।

आइतबार साँझको बाढीले ४ पांग्रे २ सवारी, मोटरसाइकल ३०, एउटा पक्की मोटरेबल पुल, तीन काठेपुल बाढीले बगाएको वारागुङ मुक्ति क्षेत्र गाउँपालिकाका अध्यक्ष रिङ्जिन गुरूङले जानकारी दिए। बाढीले प्रभु बैंकको घर नै बगाएको छ भने जनशान्ति माध्यमिक विद्यालयमा पनि क्षति पुगेको अध्यक्ष गुरुङले बताए। उनका अनुसार धर्मशाला, गुम्बालगायतका संरचना पनि बाढीमा परेको छ। करिब २०–२५ वटा पशुचौपाया पनि पुरिएको आकलन गरिएको छ ।