म्याग्दी, २५ साउन । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिकाको राहुघाट देखि बेगखोला खण्डको बैकल्पिक सडक मर्मत गरिने भएको छ ।
रघुगंगा गाउँपालिका–२ बैसरी अधेरीखोला क्षेत्रमा निरन्तरको पहिरोका कारण आइतबारदेखि अवरुद्ध बेनी–जोमसोम सडकमा यातायात सञ्चालन सहज बनाउन पहिरो नियन्त्रणका साथै वैकल्पिक सडक मर्मतको काम अघि बढाइएको हो ।

गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, बेनी–जोमसोम–कोरला सडक आयोजना, रघुगंगा गाउँपालिका र जिल्ला प्रशासन कार्यालयको समन्वयमा रघुगंगा गाउँपालिका–३ घुमाउनेताल–पिप्ले–रानीपौवा–रिसिनचौतारी–माझखर्क–बेगखोला जोड्ने बैकल्पिक सडक मर्मत गर्न बिहिबार प्राविधिक टोलीले निरिक्षण गरेको छ ।
गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीको निर्देशनमा बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापति र पूर्वाधार विकास कार्यालय म्याग्दीका सव ईञ्जिनियर रविन चोखाल सहितको टोलीले वैकल्पिक सडकको निरिक्षण गरेर मर्मतको काम अघि बढाउन लागिएको हो ।
आयोजना प्रमुख प्रजापतिले बैसरीको सडकमा खस्ने पहिरो पन्छाउन डोजर लैजाने पहुँचमार्ग खन्न शुरु भएको र साना सवारी साधनका लागि वैकिल्पक सडक मर्मतको तयारी भएको जानकारी दिनुभयो । “सडक माथिको पाखोबाट निरन्तर खसेको पहिरो पन्छाउन डोजर परिचालन गरेका छौ,” उहाँले भन्नुभयो “मोटरसाइकल, जिप, ट्याक्टरले प्रयोग गरिरहेको वैकल्पिक सडक पूर्वाधार विकास कार्यालय र गाउँपालिकासँग समन्वय गरेर मर्मत गर्न लागिएको छ ।”
बेनीदेखि पोखरेबगरतर्फ जाँदै गरेको ग १ ज ६८२० नम्बरको जिप गुडिरहेको अवस्थामा बुधबार साँझ बैसरीमा पहिरो खसेर चालक अन्नपूर्ण गाउँपालिका–७ महभिरका ४० वर्षीय लुकजन शेरपुजा घाइते हुनुभएको थियो । जिप पहिरोले पुरिएको छ । सो स्थानमा निरन्तर पहिरो खसिरहेको छ । भिरबाट खसेको पहिरो सडकमा थुप्रिएको छ । सडक माथिको पाखो भूमिगत पानीसँगै चिरा चिरा परेर ढुंगा माटोको लेदो सहित बगेको छ ।
पछिल्लो समय काम गर्ने मानिसनै पहिरोसँगै खस्ने जोखिम बढेपछि पहिरो पन्छाउन सडक माथिको पाखोमा डोजर लैजाने बाटो खन्न थालिएको हो । बिहिबार सडक देखि पहिरो खस्ने ठाउँतर्फ डोजर जाने करिब एक सय मिटर बाटो खनिएको छ ।
मार्ग मात्र खोलिएको वैकल्पिक सडक साँघुरो छ । रिसिनचौतारी क्षेत्रमा हिलोमा गाडी फस्ने गरेका छन् । पूर्वाधार विकास कार्यालयका सव ईञ्जिनियर चोखालले हिलोमा ग्राभेल बिछ्याउने र गाडी क्रस हुने ठाउँ बनाउन शुक्रबारदेखिनै काम शुरु हुने बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले मुख्य सडकमा पहिरो नियन्त्रणका साथै साना सवारी साधनले प्रयोग गरिरहेको वैकिल्पिक सडक मर्मत गर्न समन्वय गरिएको बताउनुभयो । जिल्ला प्रशासन कार्यालयले केही दिनअघि सूचना जारी गरेर रातको समयमा बेनी–जोमसोम सडकको राहुघाट–भुरुङ्ग तातोपानी खण्डमा यात्रा नगर्न अनुरोध गरेको थियो ।
बैसरीको पहिरोले सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगंगा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङका बासिन्दाका साथै पर्यटक र तिर्थयात्रीलाई सास्ती भएको छ । रघुगंगा गाउँपालिका–२ भगवतिका निर्वतमान वडाअध्यक्ष रिम कटुवालले वैकल्पिक सडकसँगै ठूला गाडीका यात्रुले प्रयोग गर्ने पैदलमार्ग पनि मर्मत गर्नुपर्ने बताउनुभयो । बेनी देखि जोमसोम जाने र जोमसोम बाट बेनी तर्फ आउने बसका यात्रुहरु राहुपारे– रिसिनचौतारी–बैसरी खण्डमा एक घण्टा पैदलयात्रा गरेर गाडी परिवर्तन गरि गन्तब्यतर्फ जाने गरेका छन् ।
सिधा यातायात नचल्दा म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङका बिरामी पोखरा, काठमाडौका अस्पताल पुग्न हेलिकप्टर चार्टर गर्नुपर्ने अवस्था आएको छ ।
गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले बेनी–जोमसोम सडकको समस्याको बारेमा प्रदेश र संघीय सरकारका सम्बद्ध मन्त्रालयमा जानकारी गराएर समाधानको पहल गरेको बताउनुभयो ।




