म्याग्दी, १ साउन । साउन महिनाको पहिलो सोमबार गलेश्वरधाम शिवालय मन्दिरमा दर्शन गर्ने भक्तजनको भिड छ । बेनी नगरपालिका– ९ मा अवस्थित प्रसिद्ध गलेश्वर शिवालय मन्दिरमा म्याग्दी, बागलुङ, पर्वत लगायत क्षेत्रबाट दर्शन, पुजाआजा गर्ने भक्तजनहरु आएका छन् ।

साउने सोमबार बिहानै स्नान गरी शिवालयमा दर्शन गरेमा मनोकांक्षा पुरा हुने विश्वास रहेकोले भक्तजनको बाख्लो उपस्थित रहेको गलेश्वर क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो । उहाँले पहिलो सोमबार २५ हजार भन्दा बढी भक्तजनले दर्शन गर्ने देखिएको उल्लेख गर्नुभयो । गलेश्वरधाम शिवालय मन्दिरमा दर्शन गर्ने महिला तथा युवायुवतीको संख्या बढी छ ।
साउन महिनामा शिवालय मन्दिरमा गङ्गाजल र बेलपत्रले पुजा गरेमा भगवान शिव खुशी भई मनोकांषा पुरा गरिदिने जनविश्वास रहेको कारण साउन महिनाभरी गलेश्वरमा श्रद्धालुको घुइँचो लाग्ने गर्छ ।
कालीगण्डकी नदीको किनारमा ९ रोपनी चट्टानमाथि रहेको गलेश्वर मन्दिरमा शिवको पुजा गर्न आउने भक्तजनलाई ब्यवस्थित रुपमा पुजा गराउन गलेश्वर क्षेत्र विकास कोषले २३ वटा उपसमिती, प्रहरी, गलेश्वर आमा समुह, विभिन्न संघसंस्थाबाट खटिनुभएका स्वयमसेवक मार्फत मन्दिरको दर्शनलाई ब्यवस्थापन गरेको कोषले जनाएको छ।




