जलजलाको ४७ करोड १० लाखको बजेट पारित
काेराेला पोस्ट १६ असार २०८०, शनिबार

पर्वत, १६असार । जलजला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ । गाउँपालिकाको केन्द्र लामाखेतमा बिहिबार साँझ सम्पन्न १४ औ गाउँसभाको तेस्रो बैठकबाट सर्वसम्मत रुपमा अध्यक्ष राजुप्रसाद आचार्यले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र उपाध्यक्ष दिपक आचार्यले प्रस्तुत गर्नुभएको बजेट पारित गरेको हो ।

उपाध्यक्ष आचार्यले संघीय सरकारको रु. ४२ करोड १६ लाख पचास हजार, प्रदेश सरकारको रु. दुई करोड ८१ लख २८ हजार, रु. दुई करोड १२ लाख २२ हजार र चालु आर्थिक बर्षमा खर्च हुन नसक्ने गरी कुल रु. ४७ करोड १० लाखको बजेट प्रस्तुत गर्नुभएको थियो ।

संघीय सरकारले दिने अनुदान घटेको र सर्वोच्च अदालतको आदेशका कारण मुख्य आम्दानीको स्रोत कालीगण्डकीको बगर ठेक्का लगाउन नपाएका कारण आम्दानीमा परेको असर बजेटमा देखिएको उपाध्यक्षको आचार्यको भनाई छ ।

गण्डकी प्रदेश सरकारको साझेदारीमा वडा नम्बर ८ को सडक निर्माणमा सबैभन्दा बढी रु. दुई करोड र संघीय सरकारको साझेदारीमा धाईरीङको गण्डकी गोपाल गौशाला निर्माणमा रु. एक करोड ६० लाख बिनियोजन भएको छ ।

गाउँपालिकाको अस्थायी संरचना र कोल्ड स्टोर भवन बनाउन जग्गा खरिदका लागि रु. एक करोड ६० लाख बिनियोजन भएको छ । वडा नम्बर १, २, ३, ४, ६, ७, ८ ले सिफारिस गरेका वडा स्तरीय योजनालाई लाई रु. ४०÷४० लाख, वडा नम्बर ५ लाई रु. ४५ लाख र ९ लाई रु. ३७ लाख बिनियोजन भएको छ ।