प्रदेश सदस्य भण्डारीद्वारा पर्यटन र सिचाई मन्त्रालयको बजेट विनियोजनमा असन्तुष्टि
काेराेला पोस्ट १३ असार २०८०, बुधबार

म्याग्दी, १३ असार । गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले संसदको छलफलमा भाग लिँदै पर्यटनको सम्भावना भएको जिल्लामा जम्मा दुईवटा योजना पारेको भन्दै असन्तुष्टि जनाउनुभएको छ। संसदमा बोल्दै भण्डारीले पर्यटन र सिचाई मन्त्रालयहरुको योजना तथा कार्यक्रम र बजेटमा असन्तुष्टि जनाउनुभएको हो ।

उहाँले पर्यटनको बलियो सम्भावना भएको म्याग्दीलाई दुईवटा मात्रै योजनामा बजेट विनियोजन गरेकोमा पर्यटनमन्त्रीलाई धन्यवाद दिदै कटाक्ष गर्नुभएको थियो । ‘मन्त्रीहरु रातभर जनता, प्रदेशका लागि सोच्नुहुन्छ होला भनेको त आफ्नो जिल्लामा मात्र सोच्नुहुदोरहेछ। आफ्ना कुन कार्यकता छुट्यो भनेर सोच्नु भएको रहेछ । बजेट पढ्दा मलाई त्यस्तो लाग्यो ।’
उहाँले संसदमा उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयबाट पनि उपेक्षा गरिएको भनाइ थियो । म्याग्दीमा निरन्तरताका सिँचाइ योजना काटिएको भन्दै भण्डारीले ब्यंग्यात्मक धन्यवाद ब्यक्त गर्नुभएको थियो ।

‘सिचाई मन्त्रालयले योजना धेरै टुक्रे बनाएको हुँदा कार्यान्वयमा चुनौती र उपलब्धी तथा प्रभावकारितामा प्रश्न उठेको छ।’ सत्तापक्ष भएको कारण बजेटमा समर्थन गर्नु बाध्यता भएको संसदमा भण्डारीले बोल्नुभएको थियो । कांग्रेसबाट पर्यटनमन्त्रीमा दिपेन्द्र थापा र उर्जामन्त्रीमा सरस्वती अर्याल तिवारी हुनुहुन्छ ।