भुरुङ तातोपानी खोलामा राखियो बेलिव्रिज
काेराेला पोस्ट ११ असार २०८०, सोमबार

म्याग्दी, ११ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– २ स्थित भुरुङखोलामा बेलिव्रिज पुल राखिएको छ।

हिमालपारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अन्तरगत भुरुङमा बाढीले कल्भर्ट पुल बगाएपछि ३० मिटर लामो बेलिव्रिज राखिएको हो ।

कालीगण्डकी कोरिडोर (बेनी–जोमसोम– कोरला सडक योजना) का योजना प्रमुख जगत प्रजापतिले एकहप्ताको समयमा ३० मिटर लामो पुल निर्माण गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार बेलिब्रिज ३० लाख निर्माण भएको हो ।

“सवारीसाधन आवातजावतका लागि अझै तीन/चारदिनमा पुल निर्माणको काम सम्पन्न हुन्छ ।”–उहाँले भन्नुभयो । “पुल निर्माण सम्पन्न भएपछि मुस्ताङ आवातजावात र्ने पर्यटक र स्थानीयबासीलाई सिधा यातायात सेवामा सहज हुने छ ।”

भुरुङखोलाले गत जेठ ६ गते रातिको बाढीले भुरुङ्ग–तातोपानीमा रहेको ३ मिटर लामो कल्भर्ट पुल भत्काएको थियो । पुल भत्काएपछि ह्युमपाइप राखेर अस्थायीरूपमा खोलामा सवारी वारपार गर्ने संरचना बनाइएको थियो । पुन: गत जेठ ३१ गतेको बाढी आएर ह्युमपाइप र वरपरको सडक कटान गरेर बगाएको थियो ।

७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडक कालीगण्डकी करिडोर आयोजनामार्फत स्तरोन्नति भईरहेको छ ।