कालीसारमा पर्यटक भुल्याउने लालीगुराँस ‘पार्क’ निर्माण
काेराेला पोस्ट १० असार २०८०, आइतबार

म्याग्दी, १० असार । अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीस्थित कालीसारमा लालीगुराँस उद्यान (पार्क) निर्माण सम्पन्न भएको छ।
घोडेपानी र पुनहिलमा घुम्न आउने पर्यटकको बसाई लम्ब्याउने उद्देश्यले गुराँसे जङ्गलबीचमा रहेको कालीसारमा डिभिजन वन कार्यालय म्याग्दीको सहयोगमा पर्यटन पूर्वाधार निर्माण गरिएको लालीगुराँस पार्क निर्माण समितिका अध्यक्ष देवेन्द्र गर्वुजा पुन(शुशिल) ले बताउनुभयो ।

अन्नपूर्ण पदयात्रामा आउने पर्यटकको बसाई लम्ब्याउन र छिटो आएका पर्यटकलाई लालीगुरासँ जंगलको प्रकृतिसंग रमाउने वातावरण सिर्जना गर्नका लागि पार्क निर्माण गरिएको बताउनुभयो ।

लालीगुराँस जंगलमा विचको समथर भागमा रहेको कालीसारमा अघिल्लो बर्ष साइकलिङ सडक निर्माण गरिएको थियो भने यसबर्ष वड वाचिङ, हर्स राईडिङ पार्क अवलोकन गर्न जाने पर्यटकका लागि शौचालय, चरा अवलोकन गर्नेहरूका लागि बेञ्च, पानी पर्दा, गर्मीमा ओत लाग्ने गोलघर बनाइएको अध्यक्ष पुनले उल्लेख गर्नुभयो ।

चालू आर्थिक बर्षमा डिभिजन वन कार्यालयबाट विनियोजित रु २० लाख बजेटबाट लालीगुराँस पार्कको पूर्वाधार निर्माण गरिएको छ। ठूलाठूला अक्षरको ब्लकबाट पोखरा–जोमसोम उडान भर्ने पर्यटकले जहाजबाटै हेर्न सक्ने गरी गुराँस पार्क लेखेको सेल्फी बोर्ड बनाइएको छ ।” उहाँले भन्नुभयो ।

“पार्कभित्र ढुङ्गा बिछ्याएर पदमार्ग बनाइएको छ । पार्कबाट गुराँसको जङ्गलको पृष्ठभूमिमा हिमालको दृश्यावलोकन गर्न सकिन्छ । पार्कको छेउमा खोल्सा परेको भाग थुनेर वन्यजन्तुका लागि पानी पिउने पोखरी पनि बनाइएको छ ।”

विहानी पुनहिलको भ्रमण गरेका पर्यटक दिउँसोमा गुराँस पार्क हँदै प्यारीबराह ताल पुगेर मनोरम दृश्यावलोकन गरेर पुन घोडेपान फर्किन सक्छन् । घोडेपानी क्षेत्रमा राप्पु, सेप्पु र चिमाला लगायतका ८ प्रजातिका लालीगुराँस पाईन्छन ।

आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर होटलको सुविधा विस्तार, सडकको पहुँ, पदमार्ग, लालीगुराँस जंगलमा आराम तथा रमाउने पुर्वाधार निर्माण गरिएको घोरेपानी होटल ब्यवस्थापन उपसमितिका अध्यक्ष मिना पनुले बताउनुभयो ।