म्याग्दीमा २२ जेठ । विश्व वातावरण दिवसको अवसरमा सरसफाइकर्मी सम्मानित भएका छन् । बेनीमा रहेको लिटल गार्डेन एकेडेमीले दिवसको अवसरमा बेनी बजारको फोहोर संकलन तथा व्यवस्थापन गर्ने सरसफाइकर्मीहरुलाई सम्मान गरेको हो । बजारक्षेत्रको फोहोर व्यवस्थापनको कार्यमा खटिदै आएका नौँ जना व्यक्तिलाई सम्मान गरेको हो ।
बेनी नगरपालिकासंगको सम्झौता बमोजिम मिसन फोर वेष्ट म्यानेजमेण्ट प्रा.लि.ले बेनी बजार, गलेश्वर लगायतका शहरी क्षेत्रको फोहोर संकलन गर्दै ठूलो पहिरोमा रहेको व्यवस्थापन केन्द्र मार्फत प्रशोधन गरि व्यवस्थापन गरिँदै आइएको छ ।
विद्यालयले वातावरण संरक्षणमा सरसफाईकर्मीहरुको योगदानको कदर गर्दै उनीहरुलाई सम्मान गरेको हो । कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापा, विद्यालयका संस्थापक निर्देशक बालकृष्ण सुवेदी, प्रिन्सिपल दिपक सुवेदी, प्राज्ञिक सल्लाहकार प्रेम जिसी, लगायतले सरसफाइकर्मीहरुलाई सम्मानपत्र, दोसल्ला र अविर लगाएर सम्मान गर्नुभएको हो ।
कार्यक्रममा सरसफाइकर्मीहरुलाई फोहोर संकलन र व्यवस्थापनमा प्रयोग हुने सरसफाईका सामाग्री समेत प्रदान गरिएको थियो । विगतका बर्षमा कालीगण्डकी कोरीडार सरसफाई, वृक्षारोपण कार्यक्रम गरि मनाएका थियौ भने यस बर्ष सरसफाई कार्यलाई सम्मान र विद्यार्थीहरुमा सन्देश प्रवाह गराउने उद्देश्यले सरसफाइकर्मीलाई सम्मान गरिएको विद्यालयका प्रिन्सिपल सुवेदीले बताउनुभयो ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख थापाले विश्वभर प्लाष्टिकजन्य फोहोरको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको बताउँदै हरेक घरबाट फोहोरको बर्गीकरण गरेर संकलन र व्यवस्थापनको कार्यलाई अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।




