म्याग्दी, २१ जेठ । म्याग्दीको बेनी नगरपालिकाको न्यायिक समितिलाई क्षमता विकास तालिम आइतबारदेखि बेनीमा संचालन गरिएको छ। नगरले आयोजना गरेको तीन दिनसम्म सञ्चालन हुने तालिममा ४० जनाको सहभागिता रहेको छ । न्यायिक समितिका पदाधीकारी, सूचिकृत मेलमिलापकर्ता, जनप्रतिनिधि र कर्मचारीहरु सहभागि तालिमको म्याग्दी जिल्ला अदालतका न्यायाधिश कृष्णप्रसाद नेपाल, अधिवत्ता ममतादेवी शर्मा लगायतले सहजिकरण गर्ने छन् ।
वडा स्तरमा मेलमिलाप केन्द्र सञ्चालन गर्न आवश्यक जनशक्ति तयार पार्ने र सूचिकृत मेलमिलापकर्ताहरुको क्षमता विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले जानकारी दिए ।

उनले नगरपालिकाको न्यायिक समितिमा दर्ता भएको २६ वटा मुद्दा मध्य अधिकांश सहमति कायम गरेर समाधान गरिएको बताउदै नागरिकलाई सहज रुपमा वडामै न्यायिक सेवा पाउने वातावरण बनाउन वडामै मेलमिलाप केन्द्र सञ्चालन गर्न चालु आर्थिक वर्षमै सामग्री व्यवस्थापन गर्न लागिएको जानकारी दिए ।
बेनी नगरपालिकाका प्रमुख सुरत केसीले स्थानीय समस्या सम्बन्धित ठाउँमै निरुपण गर्न सकेमा समय, आर्थिक खर्चको बचत हुने मात्र नभई नागरिकले न्यायको अनुभव गर्न पाउने बताए । गाउँ, टोल र वडा स्तरमै बिवाद समाधान गर्न सकेमा नगरपालिका, अदालत, प्रशासन, प्रहरी र वकिल कहाँ धाउन पर्ने समस्या कम हुने नगर प्रमुख केसीको भनाई थियो ।




