म्याग्दी, १६ जेठ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले गणतन्त्र दिवसको अवसरमा आयोजना गरेको जिल्ला स्तरीय अन्तरमावि लोक गीत प्रतियोगितामा जनता मावि दग्नामकी अस्मिता सेन्चुरी प्रथम हुनुभएको छ । सोमवार जिल्ला समन्वय समितिको सभाहलमा आयोजित १९ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगितामा विजेता बन्दै सेन्चुरीले नगर रु २५ हजार सहित ट्रफि प्रमाणपत्र पुरस्कार प्राप्त गर्नुभएको हो ।
प्रतियोगितामा जामुनाखर्क माविकी जमुना दर्जी द्वित्तिय, प्रकाश माविकी निरुता विश्वकर्मा तृत्तिय र बेनी सामुदायिक माविका सज्जन परियारले शान्तवना स्थान हाँसिल गरेका छन । उनिहरुले क्रमशः रु. १५ हजार रु.१० हजार र रु.५ हजार नगद सहित ट्रफि र प्रमाणपत्र पुरस्कृत गरिएको प्रतिष्ठान म्याग्दीका सचिव विजुन केसीले जानकारी दिनुभयो ।

विजेता विद्यार्थीहरुलाई जिल्ला समन्वय समितिका सदस्य जानकी विश्वकर्मा, प्रतिष्ठान म्याग्दीका संरक्षक तथा पूर्व केन्द्रिय सदस्य धनकुमारी थापा, केन्द्रीय सहसचिव तारानाथ आचार्य, केन्द्रिय सदस्य कुमार पुन, गण्डकी प्रदेश अध्यक्ष राजन कार्की, गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य राजेन्द्र सापकोटा, प्रतिष्ठान म्याग्दीका अध्यक्ष धु्रव जिसी लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले गर्नुभएको थियो ।
विद्यार्थीको गायन प्रतिभाको पहिचान गर्ने र उनिहरुमा लोक गीत प्रतिको रुचि अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको प्रतिष्ठान म्याग्दीका अध्यक्ष जिसीले बताउनुभयो । कार्यक्रम प्रतिष्ठान म्याग्दीका अध्यक्ष जिसीको अध्यक्षता, समन्वय प्रमुख थापाको प्रमुख आतिथ्यता, महिला उपाध्यक्ष देवि जिसीको स्वागत र द्वितिय उपाध्यक्ष पदम विश्वकर्माको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रमका राष्ट्रिय तथा स्थानीय कलाकारहरुले गीत तथा नृत्य समेत प्रस्तुत गरेका थिए ।




