एमालेको मंगलामा ‘मिसन ग्रासरुट’ अभियानसम्बन्धी
काेराेला पोस्ट १४ फाल्गुन २०७९, आइतबार

म्याग्दी, १४ फागुन। नेपाल कम्युनिष्ट पार्टी (एमाले) मंगला गाउँपालिका कमिटीको आयोजनामा आज (शनिवार) बाबियाचौरमा ‘मिसन ग्रासरुट’ अभियानसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।

दुई महिने ग्रासरुट अभियान अन्तरगत ‘जनताको बहुदलीय जनवाद जिन्दावाद’ भन्ने नारासहित मंगला गाउँपालिकाको वैठक तथा मिसन ग्रासरुट र पार्टी सुदृढीकरण एवं सङ्गठन विस्तार अभियान सम्वन्धी अभिमुखीकरण भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य चन्द्रमोहन गौचनले एमाले पार्टीको चुनौतीको रुपमा रहेको दक्षिणपन्थी अवसरवाद र साङ्गठनिक अराजकताको अन्त्यका लागि मिसन ग्रासरुट अभियान सञ्चालन गरिएको बताउनुभयो । पूर्व सांसदसमेत रहनुभएका एमाले केन्द्रीय सदस्य गौचनले मिसन ग्रासरुट अभियानको माध्यमबाट नेता, कार्यकर्तालाई पार्टी र विभिन्न विषयहरुको बारेमा तल्लो तहसम्म पुगेर प्रशिक्षण दिइने बताउनुभयो ।

त्यस्तै, कार्यक्रममा एमाले गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठले ग्रासरुट अभियानमार्फत जनताको घरदैलोमा पुगेर एमालेले सरकारमा रहँदा गरेका राम्रा कामहरुको प्रचारप्रसार गरिने र सङ्गठन सुदृढीकरण तथा विस्तारलाई जोड दिइने जानकारी दिनुभयो । कार्यक्रममा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य देवबहादुर घले, एमाले जिल्ला उपसचिव राजकुमार थापा र सचिवालय सदस्य एवं प्रदेश (ख) समन्वय कमिटी संयोजक खरमाया बिटालुको विशेष उपस्थिति रहेको थियो ।

एमाले मंगला गाउँपालिका कमिटी अध्यक्ष सतप्रसाद रोकाको अध्यक्षता र सचिव चिरञ्जीवी शर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा उपसचिव चक्रलाल पाण्डेले स्वागत गर्नुभएको थियो । कार्यक्रममा पालिकाभित्र एमाले वडा कमिटीका अध्यक्षहरु र अगुवा नेता तथा कार्यकताहरु लगायतको सहभागिता रहेको थियो ।