एक करोड लगानीमा बाबियाचौरमा ‘मंगला इन्द्रेणी पार्क’ निर्माण
काेराेला पोस्ट ७ फाल्गुन २०७९, आइतबार

म्याग्दी ७ फागुन । मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा निर्माण भएको ‘मंगला इन्द्रेणी पार्क’ उद्घाटन गरिएको छ । मंगला गाउँपालिका–२ बाबियाचौर निवासी समाजसेवी इन्द्रबहादुर अधिकारीको परिवारले निःशुल्क उपलब्ध गराउनुभएको जग्गामा गाउँपालिका, गण्डकी प्रदेश सरकार र डिभिजन वन कार्यालय समेतको रु १ करोड लागतमा बहुउदेश्यीय पार्क निर्माण गरिएको हो ।

उक्त पार्कको गाउँपालिका अध्यक्ष सतप्रसाद रोका, उपाध्यक्ष प्रेमकुमारी क्षेत्री र जग्गादाता अधिकारीले उद्घाटन गर्नुभएको छ । आर्थिक वर्ष २०७५÷०७६ मा शुरु गरिएको पार्कको निर्माण कार्य सकिएपछि औपचारिक रुपमा खुला गरिएको हो । पार्कमा संग्राहलय, खानेपानी, गार्डेन, बाल उद्यान, ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र, सौचालय लगायतका पूर्वाधार निर्माण गरिएको छ । गाउँपालिकाको केद्रद्रमा आउने पर्यटकहरुको आकर्षण र स्थानीय बालबालिका, युवायुवति र ज्येष्ठ नागरिकहरुको फुर्सदको समयलाई उचित सदुपयोगका लागि पार्क सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष रोकाले बताउनुभयो ।

पार्कको विभिन्न भागमा रेलिङ र सिँढी बनाइएको छ । शारीरिक व्यायामका लागि रनिङ स्पट बनाइएको छ । स्थानीय मौलिक संस्कृति र परम्परागत सामाग्रीको संरक्षणका लागि संग्राहलय समेत स्थापना गरिएको छ । पार्क बनाउन समाजसेवी इन्द्रबहादुर अधिकारीको परिवारले ३ रोपनी, १५ आना, ३ पैसा २ दाम क्षेत्रफलको जग्गा निःशुल्क उपलब्ध गराउनुभएको थियो त्यसैगरि थप पाँच आना क्षेत्रफलको जग्गा खरिद गर्न गाउँपालिका अध्यक्ष रोकाले रु १ लाख र मंगला युवा क्लबले रु २ लाख आर्थिक सहयोग गर्नुभएको थियो ।

आइतवार पार्क उद्घाटनको अवसरमा जग्गादाता र सहयोगदातालाई सम्मान समेत गरिएको छ । आफु जन्मेर हुर्केको ठाउँमा दिर्घकालिन उपयोगका लागि जग्गाको आबश्यकता परेपछि समग्र मंगलाको समृद्धिमा सघाउने उद्देश्यले आर्थिक रुपमा महंगो पर्ने जग्गालाई आफुहरुले निःशुल्क दान गरेको जग्गादाता इन्द्रबहादुर अधिकारीले बताउनुभयो

पार्क निर्माण गर्न डिभिजन वन कार्यालयले रु १८ लाख, गण्डकी प्रदेश सरकारबाट संग्राहलय भवन बनाउन १६ लाख र ज्येष्ठ नागरिक आश्रयस्थलको लागि रु ७ लाख बजेट उपलब्ध गराएका थिए । पार्कको जग्गा व्यवस्थापनदेखि पूर्वाधार निर्माण र संग्राहलय भवनलाई पूर्णता दिन गाउँपालिकाले करिब रु ६० लाख बढी लगानी गरेको जनाइएको छ । पार्कलाई निःशुल्क जग्गा दिने इन्द्रबहादुर अधिकारीको सम्मानमा पार्क परिसरमा अधिकारीको अर्धकदको सालिक बनाइएको छ भने संग्रहालयको नाम ‘मंगला खड्ग नन्द संग्रहालय’ नामाकरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर खत्रीले जानकारी दिनुभयो ।

म्याग्दी नदी किनारमा निर्माण भएको पार्क स्वच्छ र शान्त वातावरणसहित बालबच्चादेखि वृद्धवृद्धासम्म सबैलाई मनोरञ्जन र आनन्दको महशुस हुने गरी निर्माण गरिएको छ । पार्क सञ्चालनमा आएसंगै मंगलामा आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी क्षेत्रीले जानकारी दिनुभयो ।