म्याग्दी १६ पुस । बेनी नगरपालिकाले सार्वजनिक जग्गामा निर्माण भएका अव्यवस्थित भौतिक संरचना हटाउन सुरु गरेको छ । नगरलाई ब्यवस्थित बनाउन सार्वजनिक जग्गामा निर्माण गरिएका संरचनालाई हटाउन सुरु गरेको हो । शुक्रवार नगरले वडानम्वर ८ मा पर्ने कालीपुलको बसपार्कमा रहेका अव्यवस्थित संरचना हटाइएको हो । नगरपालिकासंग सार्वजनिक जग्गा भाडामा लिएर बसेकाहरुले सम्झौताको म्याद सकिएको र नगरपालिकाले पटक पटक ताकेता गर्दा समेत अटेर गरेपछि नगरपालिकाले डोजर लिएर अव्यवस्थित संरचना हटाउन सुरु गरेको जनाएको छ । शुक्रवारसम्म कालीपुल बसपार्क निर्माणस्थलमा ड पर्ने यातायात कम्पनीको दुई वटा टिकट काउन्टर, क्लबको भवन, सार्वजनिक शौचालय लगायतका अव्यवस्थित संरचना डोजर लगाएर हटाएको हो ।
कालीपुल बसपार्कलाई विस्तार र निर्माणका लागि सञ्चालन भएको पूर्वाधार योजनालाई पूर्णता दिन अव्यवस्थित रुपमा रहेको टिकट काउन्टर, सार्वजनिक शौचालय र भवन हटाइएको वडा अध्यक्ष उत्तम कर्माचार्यले बताए । उनका अनुसार,– अव्यवस्थित रुपमा सार्वजनिक जग्गामा सञ्चालित रेष्टुरेण्टलाई समेत एक साताभित्र हटाउने तयारी भएको छ । ‘‘बसपार्कलाई व्यवस्थित बनाउन यहाँका अव्यवस्थित संरचना हटाइएको हो’’–वडा अध्यक्ष कर्माचार्यले भने । बसपार्कलाई व्यवस्थित बनाउन त्यहाँ रहेका भौतिक संरचना डोजर चलाएर हटाउन थालिएको हो ।
नगरपालिका, पर्यटन बोर्ड र म्याग्दी उद्योग वाणिज्य संघले स्थापना गरेको पर्यटक सूचना केन्द्रको भवनको पर्खाल पनि भत्काइएको छ । सघन सहरी तथा भवन डिभिजन कार्यालय बागलुङले कालीपुल बसपार्कको गुरुयोजना अनुसार टर्मिनल भवन निर्माण अन्तिम चरणमा पु¥याएको छ । नगरपालिकाका मेयर सुरत केसीले बजारभित्रका अन्य क्षेत्रमा रहेका अव्यवस्थित भौतिक संरचना समेत क्रमिक रुपमा हटाइनेछ । विसं २०७४ मा तयार पारिएको कालीपुल बसपार्कको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार अहिले भौतिक संरचना निर्माण भइरहेको छ । यसका लागि रु २१ करोड लागत लाग्ने अनुमान गरिएको छ ।
नगरपालिका कार्यालय अगाडि म्याग्दी नदीमाथि रहेको मोटरेवल पुलको हाँडेभिरतर्फ अतिक्रमण गरेर बनाइएको संरचना हटाएर त्यहाँ पनि जिपपार्क बनाउने तयारी गरेको नगर प्रमुख केसीले जानकारी दिए । पुल नजिकै भएका अतिक्रमण हटाएर बागलुङ, भकिम्ली र बरञ्जा चल्ने जिप तथा बस पार्किङस्थल बनाउने नगरपालिकाको योजना छ । जिल्ला प्रशासन कार्यालय अगाडिको सार्वजनिक जग्गामा भाडामा बसेका व्यवसायीसँग पनि नगरपालिकाले सम्झौता नवीकरण गरेको छैन । त्यहाँ नाली निर्माण संगै पार्किङस्थल बनाउनका लागि व्यवसायीलाई हट्न ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ ।




