अन्तर मावि जेसीज कप फुटबल प्रतियोगिता सुरु
काेराेला पोस्ट २० मंसिर २०७९, मंगलबार

म्याग्दी, २० मंसिर । म्याग्दी सदरमुकाम बेनीमा २० औँ अन्तरमावि जेसीज कप फुटवल प्रतियोगिता सुरु भएको छ । मंसीर २५ गतेसम्म बेनीको खुला मञ्चमा सञ्चालन हुने प्रतियोगितामा जिल्लाका विभिन्न १८ विद्यालयले सहभागीता जनाएका छन् । म्याग्दी जेसीजले हरेक बर्ष आयोजना गर्ने यस प्रतियोगितालाई यस बर्ष गौमती खत्री विकास कोषले मुख्य प्रायोजकको रुपमा आर्थिक सहयोग गरेको छ । ‘‘जेसीजकप फुटबल म्याग्दीको शान–प्रतिभाको पहिचान र क्षमता प्रस्फुटन’’भन्ने मुल नाराका साथ सुरु भएको प्रतियोगिताका बेनी नगरपालिकाका मेयर सुरत केसीले मंगलवार उद्घाटन गरे ।

प्रतियोगिताको उद्घाटन गर्दै मेयर केसीले जिल्लामा फुटवल खेलाडीहरुको उत्पादन र खेलप्रतिको आकर्षण बढाउन जेसीज कप प्रतियोगिताले महत्वपूर्ण भूमिका खेलेको बताए । ‘‘२० औँ संस्कणसम्म निरन्तर प्रतियोगिता आयोजना गर्नु आफैमा गौरवको बिषय हो, विद्यालय तहदेखि नै विद्यार्थीहरुमा अहिले फुटवल प्रतिको मोह यसै प्रतियोगिताले बढाएको छ, खेलकुद क्षेत्रको विकासका लागि नगरपालिकाले खुलामञ्चलाई मिनि रंगशाला बनाउने योजनाालाई पूर्णता दिनतर्फ आबश्यक पूर्वाधार निर्माणमा अगुवाई गरेको छ’’–मेयर केसीले भने ।

प्रतियोगितामा बिजेता विद्यालयलाई जेसीजकप रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद रु ५२ हजार २२२ र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्रको साथमा नगद रु ३२ हजार २२२ पुरस्कार प्रदान गरिने म्याग्दी जेसीजका अध्यक्ष सन्दिप खत्रीले जानकारी दिनुभयो ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, स्ट्राइकर, मिडफिल्डर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता तथा राईजिङ प्लेयरलाई विभिन्न अवार्डबाट नगद रु २ हजार ५ सयको साथमा ट्रफि, मेडल र प्रमाणपत्र सहित पुरस्कृत गरिनेछ भने अनुशासित टिमलाई नगद रु ७ हजार ७ सय ७७ को साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रतियोगिताको उद्घाटन कार्यक्रममा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष धनञ्जयकुमार श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी र म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले जिल्लामा फुटवल खेलको विकासमा जेसीज कपको योगदानबारे चर्चा गर्दै खेलाडीहरुलाई अनुशासित भएर खेल खेल्न आग्रह गरे । म्याग्दी जेसीजका शाखा अध्यक्ष खत्रीको अध्यक्षता, प्रतियोगिताका मुल संयोजक दिनेश बानियाँको स्वागत र महासचिब विश्मा श्रेष्ठको सञ्चालनमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।

कक्षा १० सम्मका विद्यार्थी खेलाडीहरुले सहभागीता जनाउने जेसीज कप फुटबल प्रतियोगिताले विद्यालयस्तरमा लुकेर रहेको खेल प्रतिभालाई उजागर गराउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ । जेसीजकप फुटवल म्याग्दीमा विद्यालय तहमा हुने जिल्ला स्तरीय खेल प्रतियोगिताहरुमध्येमा चर्चित मानिन्छ । यस पटक आयोजकले खेल खेल्ने क्रममा घाईते हुने खेलाडीको उपचारका लागि दुर्घटना विमाको समेत व्यवस्था गरेका छन् ।