धवलागिरी गाउँपालिकाको प्रशासकीय भवन शिलन्यास
काेराेला पोस्ट १९ मंसिर २०७९, सोमबार

म्याग्दी, १९ मंसिर । म्याग्दीको धवलागिरी गाउँपालिकाको प्रशासकीय भवनको निर्माण कार्य सुरु गरिएको छ । वडा नम्बर ३ घट्टेखोलामा निर्माण हुन लागेको भवनको सोमबार गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले शिलन्यास गरेका हुन् । भवन निर्माणका लागि गत असार ३ गते प्रतिष्ठा–जुम्ली–माछापुच्छ्रे जेभीले सात करोड ७१ लाख ८९ हजार ६६६ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।

तीन तले भवनमा २७ वटा कोठा, एक÷एक वटा सभाहल र बैठककक्ष हुने गाउँपालिकाका पूर्वाधार शाखा प्रमुख लोकेन्द्र रावलले बताउनुभयो । प्रतिस्पर्धाका क्रममा कम कबोलेको प्रतिष्ठा–जुम्ली–माछापुच्छ्रेसँग सम्झौता भएको हो । २०८० पुष ३ गतेसम्म भवन निर्माण गर्ने सम्झौता छ । निर्माण कम्पनीका प्रतिनिधि कलाधर आचार्यले जग्गा व्यवस्थापनको काम सकेर पिल्लर निर्माण थालिएको बताउनुभयो । भवन निर्माणका लागि आर्थिक वर्ष २०७६÷७७ मा स्थानीयबासीहरुबाट १४ रोपनी जग्गा निशूल्क उपलब्ध गराएका थिए ।

वि.स. २०७४ साउनमा भएको विशेष गाउँसभामा बहुमतबाट घट्टेखोलामा गाउँपालिकाको स्थायी केन्द्र कायम गर्ने कायम गर्ने निर्णय भएको थियो । हाल ३ नम्बर वडामा पर्ने तत्कालीन मुना गाविसको भवनमा तला र कोठा थप गरेर गाउँपालिकाको कार्यालय सञ्चालन हुदै आएको छ ।

शिलन्यास कार्यक्रममा अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष रेशम पुन मगर, प्रमुख प्रशासकीय अधिकृत ध्रुव रिजालले निर्धारित समयभित्रै भवन निर्माण गर्न निर्माण व्यवसायीलाई निर्देशन दिएका छन् । गाउँपालिकाले सेवाप्रवाहलाई छिटो र प्रभावकारी संचालन गर्नका लागि सुविधान सम्पन्न भवन आवश्यक छ, त्ससैले भवन निर्माणलाई समयमै सम्पन्न गराउन गाउँपालिकाले सहजिकरण र समन्वय गर्ने पनि अध्यक्ष पनुले प्रतिवद्धता जनाएका छन् ।