म्याग्दी, १६ मंसिर । म्याग्दीको प्रदेशसभा क्षेत्र (ख)बाट गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित रेशमबहादुर जुग्जालीले भोजभतेरको खर्च कटाएर मंगला गाउँपालिका–१ कुहुँको भिरकटेराका फाले र रतिकला फगामीको जिर्ण घर मर्मतका लागि जस्तापाटा बोकेर पुग्नुभएको छ।
७६ वर्षका फाले बोल्न नसक्ने अपाङ्ग हुनुहुन्छ । उहाँकी ७७ वर्षीया श्रीमति रतिकला पनि लडेर हिडडुल गर्न सक्ने अवस्थामा हुनुहुन्न । उहाँहरुको ढुंगा, माटो र काठले बनेको दुई तले घर जिर्ण बनेर भत्कने अवस्थामा छ । खरले छाएको पिढिको छानो चुहिने भएपछि बाहिर पलास्टिक राखेका छन् र फगामी दम्पतीलाई छोरी तिलकुमारी पुनले स्याहार सुसार गर्दै आउनुभएको छ ।
तिलकुमारी उहाँहरुका एकमात्र सन्तान हुनुहुन्छ । आफ्नै जग्गा जमिन नभएका उनिहरुको आम्दानीको स्रोत सामाजिक सुरक्षा भत्ता मात्रै हो । आर्थिक अभावका कारण घर मर्मत गर्न सकेका थिएनन् । जिर्ण घरमा जोखिम मोलेर बस्दै आउनुभएको छ । जिर्ण घर मर्मतका लागि जुग्जालीले फगामी दम्पत्तीलाई ३६ थान ८ फुटको जस्तापाटा उपलब्ध गराउनुभएको हो । जुग्जालीले साथी भाई र आफन्तले उपलब्ध गराएको सहयोग सामाजिक क्षेत्रमा खर्चीएको बताउनुभयो । मंगला, मालिका र धवलागिरी गाउँपालिकामा एक÷एक वटा कार्यक्रम गर्ने जुग्जालीको योजना छ ।
नेपाली काँग्रेसका स्थानीय नेता रिप्रसाद पुन (रविन), नेकपा माओवादी केन्द्रका पृथीलाल विक, नविन किसान लगायतले नवनिर्वाचित प्रदेश सांसद जुग्जालीलाई फगामी दम्पत्तीको समस्याका बारेमा जानकारी गराउनुभएको थियो । नेपाली कांग्रेस र माओवादी स्थानीय कार्यकर्ताहरुले श्रमदान गरेर जस्तापाटा फेरिदिने जनाएका छन् । फाले फगामी र रिमतिले जिर्ण घर मर्मत हुन लागेकोमा खुसी व्यक्त गर्नुभएको छ। उहाँहरुले नवनिर्वाचित सांसद जुग्जालीलाई आर्शिवाद दिनुभएको थियो ।




