करबाकेली सङ्ग्रहालय संचालनमा
काेराेला पोस्ट १४ मंसिर २०७९, बुधबार

म्याग्दी १४ मंसिर । समुदायको अगुवाईमा चन्दा जुटाएर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८काफलडाँडास्थित करबाकेलीमा सङ्ग्रहालय निर्माण गरिएको छ। करबाकेली बाबा संरक्षण समितिको अगुवाइमा लोप हुन लागेका सामग्रीको संरक्षण र पर्यटन विकास गर्ने उद्देश्यले पुनः सङ्ग्रहालय सञ्चालन गरिएको हो । सङ्ग्रहालयको सगरमाथा आरोही तथा नायिका दिया पुनले मङ्गलबार उद्घाटन गरेकी हुन् । करबाकेलीमा परम्परागत शैली र प्रविधिको प्रयोग गरेर दुई तले संग्रहालय भवन तयार छ ।
सङ्ग्रहालय निर्माणका लागि संस्थागत र व्यक्तिगतरूपमा रु ८१ लाख ८३ हजार एक सय ३८ सहयोग जुटेको र रु ८० लाख ३९ हजार तीन सय ४५ खर्च भएको करबाकेली संरक्षण समितिका सचिव रवि गर्बुजाले बताए ।

“संग्रहालय निर्माणमा अन्नपूर्ण गाउँपालिकाले रु सात लाख र प्रदेश सरकारले रु पाँच लाख सहयोग गरेका छन, अरु रकम स्वदेश तथा विदेशबाट चन्दा सहयोग प्राप्त भएको थियो ।” करबाकेली संरक्षण समितिका संरक्षक चामबहादुर पुनले परम्परागत जीवनशैलीका रीतिरिवाज, संस्कृति र रहनसहनमा आधारित सामग्री सङ्कलन गरेर सङ्ग्रहालयमा राखिएको बताए । परम्परागत सामग्रीको संरक्षण र पर्यटन बिकास गर्ने उद्देश्यले चन्दा सहयोग जुटाएर संग्रहालय तयार गरिएको अध्यक्ष पुनले भने ।

‘परम्परागत सीप र सामानको प्रयोगबाट मौलिकता झल्काउने उद्देश्यले निर्मित भवनमा पुन समुदायको अगुवाइमा संग्रहालय स्थापना गरिए पनि म्याग्दी जिल्लाका सबै जातजाति र समुदायको साझा बनाउने योजनासहित संग्रहालय तयार छ।’ हाल प्रचलनमा रहेका र प्रयोग हुन छाडेका सबै किसिमका सामान, पोशाक, भाडाकुँडा र दैनिक जीवनमा प्रयोग हुने सामग्री राखिएको छ।

अन्नपुर्ण गाउँपालिका ८ राम्चेका वडाअध्यक्ष खमबहादुर गर्वुजाले मोहरे डाडाँ, करबाकेली लगायतको क्षेत्रमा पर्यटन पुर्वाधार रुपमा सडक र पदमार्ग लगायतमा ध्यान दिएको जानकारी दिए । करबाकेली इको ट्रेकमा संग्रहालयसंगै जंगल सफारी, पुन समुदायको संस्कृति र प्राकृतिक सुन्दरता थप विशेषता रहेको छ। “पुन समुदायका कूलदेवता करबाकेली बाबाको अवसान भएको करबाकेलीमा रु दुई करोडभन्दा बढी सहयोग जुटाएर करबाकेलीको थान, पूजास्थल, पदमार्ग, सडक, सामुदायिक लज र सभाहल, खेलमैदानलगायतका पूर्वाधार निर्माण भइसकेको छ ।”

करबाकेलीसम्म पुग्ने करिब एक किलोमिटर पदमार्ग र प्रवेशद्धार पनि निर्माण गरेका छन् । करबाकेली परिसरमा करिब एक हजार जना क्षमताको सभाहल निर्माण भएको छ । करबाकेली भ्रमणमा आउने पर्यटक तथा भक्तजनको सुविधाका लागि सामुदायिक होटल सञ्चालन गरिएको छ ।