म्याग्दी, ५ मंसिर । मुस्ताङबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका युवा नेता योगश गौचन थकाली निर्वाचित भएका छन् । मुस्ताङ निवर्तमान सांसद एवम् एमालेका उम्मेदवार प्रेमप्रसाद तुलाचनलाई पराजित गर्दै योगेश गौचन थकाली प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।
सोमबार सकिएको मतगणनामा प्रतिनिधिसभामा निर्वाचित गौचनले ३ हजार ९९२ मत प्राप्त गरेका छन् भने एमालेका तुलाचनले ३ हजार ७८ मत प्राप्त गरेका हुन् ।प्रतिनिधिसभा सदस्यमा निर्वाचित योगेश कांग्रेसका जिल्ला सभापति एवम् पूर्वसांसद रोमी गौचनका छोरा हुन् । २०७४ को निर्वाचनमा एमालेका तुलाचनले कांग्रेसबाट उम्मेदवार बनेका रोमी गौचनलाई पराजित गरेका थिए ।
यो निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले ८७ मत ल्याएका थिए । २०७४ मा मुस्ताङमा वाम गठबन्धनबाट उम्मेदवार बनेका तुलाचनले ३ हजार ५ सय ४४ मत ल्याएका थिए । रोमी गौचनले भने ३ हजार १ सय ८१ मत प्राप्त गरेका थिए । यसपटक कांग्रेस र माओवादी केन्द्र लगायतको गठबन्धनको बलमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका हुन् ।
ब्याचलर अफ बिजनेस म्यानेजमेन्ट उत्तीर्ण गरेका थकाली साविक लेतेमा कांग्रेस गाउँ सभापति, कांग्रेस जिल्ला सदस्य हुँदै हाल गण्डकी प्रदेश सदस्य र महाधिवेशन प्रतिनिधिसमेत हुन् । उनले लेतेमा होटल कालोपानी र पोखरामा त्रिथुंगा ट्राभल्स एन्ड टुर्स प्रालिका सञ्चालन गरिरहेका छन् । उनले मुस्ताङमा किविलगायत अर्गानिक कृषि फार्म पनि सञ्चालनमा छ ।
मुस्ताङको कूल जनसंख्या ११ हजार ५९३ रहेको छ । यस जिल्लामा कूल मतदाता १० हजार ९५७ रहेका छन् । मंसिर ४ गते आइतबार भएको निर्वाचनमा मुस्ताङमा ७ हजार २३० मत खसेको थियो ।




