म्याग्दीमा मतदान शान्तिपूर्ण रुपमा जारी
काेराेला पोस्ट ४ मंसिर २०७९, आइतबार

म्याग्दी, ४ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको लागि विहान सात बजेदेखि सुरु भएको मतदानमा मतदाताहरुको उत्साहपूर्ण सहभागीता रहेको छ ।

म्याग्दी जिल्लाका ८२ वटा मतदानस्थल, एक सय १९ मतदान केन्द्र र जिल्ला कारागारमा एउटा अस्थायी मतदान केन्द्रमा अहिले मतदान भैरहेको छ । जिल्लाका सबै मतदाना केन्द्र र मतदान स्थलमा शान्तिपूर्ण रुपमा मतदान सुरु भएको र मतदाताको उत्साहपूर्ण सहभागीता रहेको पाईएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मतदानका लागि विहानैदेखि सर्वसाधारणहरुले मतदान स्थलमा लामबद्ध बनेका छन् । धान, कोदो लगायतका बाली भित्र्याउने र गहुँ, जौ, आलु लगाउने चटारोका बिच सर्वसाधारणले मतदातमा सक्रिय सहभागीता जनाएका छन् ।

निर्वाचन सम्पन्न गराउनका लागि म्याग्दीमा सुरक्षा जनशक्ति र स्वयंसेवकबाहेक मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी गरेर कुल नौ सय ५२ कर्मचारी परिचालन गरिएको छ । त्यसैगरि दुई हजारभन्दा बढी सुरक्षाकर्मी निर्वाचनमा परिचालित भएका छन् । छवटा स्थानीय तह र ४५ वडा रहेको म्याग्दीमा ८६ हजार १२०मतदाता छन् ।

प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको म्याग्दीमा निर्वाचित हुने तीन पदका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १९ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । बेनी नगरपालिका, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकालाई समेटेको ४९ मतदानस्थलमा ६८ वटा केन्द्र रहेको प्रदेशसभा क्षेत्र ९१० मा ४८ हजार चार सय ७२ मतदाता छन् । मङ्गला, मालिका र धवलागिरि गाउँपालिका समावेश ३३ स्थलमा ५१ केन्द्र रहेको प्रदेशसभा क्षेत्र ९२० मा ३७ हजार छ सय ४८ मतदाता छन् ।

जिल्लामा यस पटक अपायक पर्ने र भौगोलिकरूपमा विकट बस्तीका लागि स्थानीय तह चुनावपछि आठ ठाउँमा नयाँ मतदान स्थल थपिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।