म्याग्दी, १९ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निर्वाचन परिचालन कमिटी म्याग्दीको आयोजनामा आज (शनिवार) जिल्लाको विभिन्न स्थानमा चुनावी सभा सम्पन्न भएको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत बेनी नगरपालिका–२, ज्यामरुककोटको खबरा, भकुण्डे तथा मंगला गाउँपालिका–२, बाबियाचौर र हिदीमा चुनावी कार्यक्रम आयोजना गरिएको हो ।
चुनावी सभालाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य एवं म्याग्दी जिल्ला इन्चार्ज भूपेन्द्रबहादुर थापाले ‘समृद्ध नेपाल र सुखी नेपाली’को अभियानलाई पुरा गर्नका लागि देशमा एमालेको सरकार आवश्यक रहेकाले मंसिर ४ गतेको निर्वाचनमा एमालेलाई भोट दिएर जिताउनुपर्ने बताउनुभयो ।
चुनावी सभामा प्रतिनिधि सभाका उम्मेदवार हरिकृष्ण श्रेष्ठले आफू संसदमा पुगेर जिल्लाको शिक्षा, स्वास्थ्य, सडक, विद्युत, पूर्वाधारलगायत क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । ‘लामो समयदेखि म्याग्दी जिल्लामा राजनीति, शैक्षिकलगायत विभिन्न क्षेत्रको नेतृत्वमा रहेर जिल्लालाई नजिकबाट बुझेको जानकारी गराउदै आसन्न प्रतिनिधि सभाको निर्वाचनमा आफूलाई मतदान गरी विजयी बनाउन मतदाताहरुलाई आग्रह गर्नुभएको छ ।
एमाले म्याग्दीका अध्यक्ष एवं प्रदेशसभा (१)का उम्मेदवार देवेन्द्रबहादुर कटुवालले आफू यसअघि जनप्रतिनिधिको भूमिकामा रहेर जिल्लाको समग्र विकासमा पहल गरेको बताउँदै थप काम गर्ने अवसर दिन आसन्न निर्वाचनबाट एमालेको पक्षमा मतदान गरी विजयी बनाउनुपर्ने बताउनुभयो । रत्नेचौरको अर्जममा एमाले उम्मेदवारसहित नेता, कार्यकर्ताहरुले घरदैलो गरेर मतदाताहरुलाई भेटघाट गरी भोट मागेका छन् ।
यसैगरी मंगला गाउँपालिका–२, बाबियाचौरमा प्रदेशसभा (२) का उम्मेदवार यामबहादुर गर्बुजाले देशमा भौतिक पूर्वाधारको विकास तथा निर्माण गरी देशलाई अग्रगमनको गतिमा अगाडि बढाउन एमालेलाई जिताउनुपर्ने बताउनुभयो ।




