म्याग्दी, १६ कात्तिक । चार मंसिरमा हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि म्याग्दीका बाम–लोकतान्त्रीक गठबन्धनका उम्मेद्वारहरुले चुनावी भेटबाट,घरदैलो कार्यक्रमलाई तिब्र बनाएका छन् । सोही क्रममा मंगलबार कास्की स्थित पोखरामा बासोबास गर्ने म्याग्दीलीहरुसंग भेटघाट गरेका छन् । गठबन्धनका उम्मेदवारहरुले रोजगार, ब्यवसायको शिलशिलामा पोखरामा बसोबास गर्ने म्याग्देलीहरुलाई भेटघाट गरी आगामी चुनावमा मतदान गरी जिताउन अपिल गरेका छन् ।
प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार एवं नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ले संविधानको रक्षा, जिल्लामा विकासलाई गति दिन, सुशासन तथा विकास मार्फत जिल्लाबासीको जिवन स्तरमा परिवर्तन ल्याउन गठबन्धनका उम्मेद्वारलाई जिताउन आह्वान गर्नुभयो । ‘नयाँ संविधानको रक्षा ,राजनितिक स्थायीत्व र केपी ओली नेतृत्वको सरकारले गरेका गलत कार्यहरुलाई रोक्न प्रमुख राजनीतिक दलहरु गठबन्धन गरेर निर्वाचनमा होमिनुपरेको हो, संविधान र प्राप्त उपलब्धीहरुको रक्षा गर्दै समृद्ध मुलुक निर्माणमा गठबन्धनका उम्मेदवारहरुलाई बिजयी गराउन आह्वान गर्दछु,’–उहाँले भन्नुभयो ।

म्याग्दीबाट निरन्तर रुपमा नेकपा एमालेले नेतृत्व गरिरहँदा छिमेकी जिल्लाहरुको तुलनामा म्याग्दीका विकास नगन्य रहेको बताउँदै उहाँले आगामी प्रदेश र संघीय सरकार समेत गठबन्धनकै बन्ने भएकाले यस पटक गठबन्धनका उम्मेदवारलाई बिजयी गराउनुपर्ने उहाँको भनाई थियो । कार्यक्रममा प्रदेशसभा सदस्य पदका उम्मेदवार भण्डारीले परिवर्तित अवस्था र चुनौतिपूर्ण विकासको गतिलाई अघि बढाउन गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्नुपर्ने बताउनुभयो । ‘भौतिक पूर्वाधारको विकास संगै शिक्षा, स्वास्थ्य, खानेपानी, यातायातको अवस्थामा सुधार र परिवर्तन ल्याउँदै आम नागरिकको दैनिकिमा सकरात्मक प्रभाब ल्याउनु हाम्रो प्रमुख उदेश्य हो, युवाहरुलाई स्वदेशमै आत्मनिर्भर बनेर स्वरोजगार बनाउने कार्यमा मेरो विषेश भुमिका रहन्छ’–भण्डारीले भन्नुभयो ।
कार्यक्रममा निवर्तमान गण्डकी प्रदेश सभा सदस्य विनोद केसी ,कांग्रेस प्रदेश सभा क्षेत्र (क) कार्यसमितिका सभापति ओम छन्त्याल ,कांग्रेस अन्नपुर्ण गाउँपालिका कार्यसमितिका निवर्तमान सभापति क्याप्टेन बलबहादुर तिलिजा लगायतले बोल्नुभएको थियो । राजकुमारी पुनको अध्यक्षता, कांग्रेस महाधिवेशन प्रतितिनिधि सदस्य तथा मालिका गाउँपालिकाका निवर्तमान अध्यक्ष श्रीप्रसाद रोका मगरले कार्यक्रम संचालन गर्नुभएको थियो ।




