म्याग्दी, १४ कात्तिक । निर्वाचन आयोगले म्याग्दी जिल्लाबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका नेकपा एमालेका हरीकृष्ण श्रेष्ठ र प्रदेश ख का उम्मेदवार याम गर्वुजालाई स्पष्टीकरण सोधेको छ ।
आचार संहिता उल्लङ्घन गर्ने एमाले म्याग्दीका दुई उम्मेदवारलाई २४ घण्टाभित्र आफैँ वा आफ्नो प्रतिनिधिमार्फत निर्वाचन आयोगमा वा जिल्ला निर्वाचन कार्यालय म्याग्दीमा जवाफ प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न आयोगले निर्देशन दिएको छ
मुख्य निर्वाचन अधिकृतको कार्यालय अन्तरगतको आचार संहिता अनुगमन समितिले नेकपा एमालेका प्रतिनिधिसभा सदस्यका उमेद्वार श्रेष्ठ र प्रदेशसभा क्षेत्र (ख)का उमेद्वार गर्बुजालाई सोमबार स्पष्टिकरण सोधेको हो ।

अनुगमन अधिकृत रामभक्त रानाभाटले मतदाता प्रभावित बनाउन युवा क्लवलाई चन्दा र सर्वसाधारणलाई चामल वितरण गरेको उजुरी परेपछि श्रेष्ठ र गर्बुजालाई २४ घण्टाभित्र स्पष्टिकरण पेश गर्न पत्र पठाएको जानकारी दिनुभयो ।
श्रेष्ठ र गर्बुजा विरुद्ध नेपाली काँग्रेस म्याग्दीका उपसभापति समेत रहेका कर्णबहादुर भण्डारी (केवी)ले आइतबार चन्दा दिएको रसिदको फोटोकपी र चामल वितरण गरेको भिडियो तथा अडियो लगायत प्रमाण सहित उजुरी दिनुभएको थियो ।
निर्वाचन आचार संहिता लागु भइसकेपछि श्रेष्ठले युवा क्लवलाई रु. १० हजार चन्दा दिएको रसिदको फोटोकपी सहित उजुरी परेको छ । यसैगरी श्रेष्ठ र गर्बुजाले मतदातालाई प्रभावित बनाउन मालिका गाउँपालिका–३ इग्रे, लामखोरीया र श्यामगराका बासिन्दालाई चामल वितरण गरेको उजुरीमा उल्लेख छ ।
अनुगमन समितिको बैठक बसेर चन्दा र चामल वितरण गरेको हो होइन ?, के कारणले वितरण गरिएको हो भन्ने विषयमा लिखित स्पष्टिकरण माग गरेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको आचारसंहितामा मतदातालाई प्रभावित बनाउन नगद, जिन्सी लगायत कुनै पनि बस्तु वितरण गर्नेे उमेद्वार र दललाई स्पष्टिकरण सोध्ने देखि उम्मेदवारी खारेज गर्ने सम्मको कारबाही व्यवस्था छ ।




