एमालेका उम्मेदवार मतदाता भेटघाटमा
काेराेला पोस्ट ३ कार्तिक २०७९, बिहिबार

आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेसँगै राजनीतिक दल तथा उम्मेदवारहरु भोट माग्न गाउँ पसेका छन् । यसैक्रममा नेकपा एमाले म्याग्दीबाट आसन्न निर्वाचनमा संघ तथा प्रदेशमा उम्मेदवार बनेका उम्मेदवारसहितको टोली मतदाता भेटघाटको अभियानमा लागेको हो ।

एमालेबाट प्रतिनिधि सभामा उम्मेदवार बनेका नेता हरिकृष्ण श्रेष्ठसहित प्रदेशसभा (क)का उम्मेदवार पार्टी अध्यक्ष देवेन्द्रबहादुर कटुवाल क्षत्रीको एक टोलीले रघुगंगा गाउँपालिकाको विभिन्न वडा, टोल र वस्तीमा पुुगेर मतदातासमक्ष भोट मागेको एमाले म्याग्दीले जनाएको छ । एमालेको यस टोलीले रघुगंगा–८, कुईनेमङ्गलेको घ्याँसीखर्क, चिमखोलाको लाम्मेला र दर्मिजा पुगेर मतदाता भेटघाटसहित घरदैलो अभियान गरेका छन् ।

कुईनेमङ्गले र चिमखोलाको विभिन्न टोल तथा वस्तीमा पुगेर आफूहरुले आसन्न निर्वाचनमा एमालेको पक्षमा मतदान गर्न अपिल गरिएको प्रतिनिधिसभाका उम्मेदवार श्रेष्ठले बताउनुभयो ‘समृद्ध नेपाल र सुखी नेपाली’का लागि एमालेलाई जिताउन आवश्यक रहेको भन्नुभयो ।

घरदैलो अभियान तथा मतदाता भेटघाट कार्यक्रममा प्रदेशसभा (क)का उम्मेदवार कटुवाल क्षत्रीले नेकपा एमालसँग देश विकास गर्ने स्पष्ट भिजन र नेतृत्व भएकाले एमालेको पक्षमा भोट दिन मतदातालाई आग्रह गर्नुभयो । उहाँले एमालेबाट निर्वाचित सांसद तथा नेताहरुको पहलमा म्याग्दीलाई हिमाली जिल्लामा सुचीकृत गर्ने, पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि पर्यटनलक्षित संरचनाहरु निर्माण गर्ने, लामो दुरी तथा अग्लो झोलुङ्गे पुल बनाउने, सडक विस्तार एवं स्तरोन्नति गर्ने, खानेपानी, खेलकुद, विद्यालय भवन निर्माणलगायत विभिन्न पूर्वाधारहरु निर्माणमा पर्याप्त बजेट र कार्यक्रमहरु सञ्चालन गरिएको बताउँदै भोट माग्नुभएको छ ।

यसैगरी म्याग्दी जिल्लाको प्रदेशसभा (ख)मा पनि एमाले उम्मेदवार यामबहादुर गर्बुजासहितको टोलीले घरदैलो अभियानमार्फत मतदाता भेटघाट कार्यक्रम गरी भोट मागेको जनाएको छ । उक्त टोलीले मालिका गाउँपालिका–६, दरबाङको दुखु, ७ नम्बर वडा विमको धुनट र डाँडागाउँमा पुगेर मतदाता भेटघाटमा ब्यस्त छन् ।